काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा नेपालमा संक्रमणको अवस्था २१ दशमलव ८७ प्रतिशत हुन आउँछ ।
२० असारयता बुधबारसम्म ४४ हजार १ सय १ सय ४२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा २२ दशमलव २८ प्रतिशत संक्रमणदर रहेको हुन आउँछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ असारदेखि २३ असारसम्म १ लाख ६७ हजार २ सय ७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३९ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ । यस्तै, सोही अवधिमा १ लाख ३ हजार २ सय ११ जनामा एन्टिजेन परीक्षण गर्दा १९ हजार ४ सय चार जनामा पोजेटिभ देखिएको छ ।
भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको बताए । उनले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको बताउँछन् ।
कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशले जनस्वास्थ्य मापदण्ड उल्लघंन गर्नेहरूलाई ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने उल्लेख भए पनि कार्यान्वयनमा आएको छैन । यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरे पटकैपिच्छे एक सय रुपैयाँ जरिमाना भनिए पनि नियमनकारी निकायले उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकेको पाइएको छ । समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।