चितवन । चितवनको राप्ती नगरपालिका १२ पर्खालमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना बेपत्ता भएका छन्।
पहिरोले २ वटा घर र ती घरमा रहेका ४ जना मानिसलाई बगाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
बेपत्ता भएकामध्ये एक पुरूषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको उनले बताए। पहिरोले एउटा गोठ बगाएको र उक्त गोठमा रहेको १६ वटा गाई, गोरु, दर्जन बढी बाख्रा बगाएको जानकारी पाएको उनले बताए।
त्यस्तै, बिहीबार दिउँसो २ बजेतिर कालिका ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको छ। आफन्तको घर जाने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएका उनको शव पहिरो झरेको स्थानबाट १ किलोमिटर तल घैयावारी भन्ने स्थानको खोलाको छेउमा फेला परेको थापाले बताए।
राप्ती–९ रसौली स्थित लदरी खोलामा एक्कासि पानीको बहाव बढेपछि केही घर, कटेज र चौपाय बगाएको छ।
लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पनि अवरूद्ध छ।