आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

रणनीति टुंग्याउँदै सकियो विपक्षी गठबन्धनको छलफल

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार १६:५८ मा प्रकाशित (३ साल अघि) २५० पाठक संख्या

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेता दोस्रो दिन पनि छलफलमा जुटेका छन् । सिंदरबारमा आज भएको छलफल अदालती प्रक्रियाको रणनीति टुंग्याउँदै सकिएको छ ।

प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दावीसहित सोमबार रिट दायर गरेका विपक्षी गठबन्धनका शीर्ष नेता दोस्रो दिन पनि छलफलमा जुटेका हुन् ।

आजको बैठकमा कानुनविद्हरु समेत उपस्थित भएको बैठकमा रिट दायरपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘टेक्निकल मात्रै हो आज ।’

रिटमाथिको सुनुवाइमा अदालतमा कसरी प्रस्तुत हुनेबारे छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए । ‘सम्भवतः भोलि या पर्सिदेखि मुद्दामाथि सुनुवाइ प्रारम्भ होला,’ बैठकबाट निस्कदै गर्दा उनले भने ।