आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू, तीन जिल्ला मात्रै बाँकी

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार ०७:५१ मा प्रकाशित (३ साल अघि) २०२ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणको क्रम बढ्दो अवस्थामा रहेकाले देशका बिभिन्न जिल्लामा निषेधाज्ञाको क्रम पनि बढिरहेको छ । जसअनुसार आजसम्म देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा रहेको भन्दै सम्बन्धित जिल्ला प्रशासनहरुले निषेधाज्ञाको म्याद थप्दै लगेका छन । पछिल्लो समय गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञ डा. विराज कर्माचार्यले बताए ।

नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडा पार्ने क्रम जारी छ । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि निषेधाज्ञा थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् ।

पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ जसका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर बढिरहेको छ । आइतबार मात्रै सङ्क्रमणदर सात हजार ३६८ हुँदा निको हुने दर भने छ हजार ६४८ रहनाले सकारात्मक रुपमा लिन सकिने स्वास्थ्यविज्ञले बताएका छन् । अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार ताप्लेजुङ र लमजुङले एक साता, काभ्रेपलाञ्चोक र सङ्खुवासभाले १० दिन, बैतडी र नुवाकोटले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लाले भने यही जेठ १३ सम्मका लागि आदेश जारी गरिसकेका छन् । अब निषेधाज्ञा जारी गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ रहेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताए ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।