आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार २०:०३ मा प्रकाशित (३ साल अघि) २६६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको हो ।

सर्वोच्च अदालत रिट महाशाखा स्रोतका अनुसार अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको हो ।

शपथ र शपथपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्ति विरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को पेश गरेका छन् । उनको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखा स्रोतको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। ओलीले भने ुयो पर्दैनु भन्दै शपथग्रहण अगाडि बढाए । उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । त्यसपछि ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन् ।

शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको भन्दै आलोचना समेत भएको छ ।