काठमाडौं ।पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्सका लागि छिटो सय गोल पूरा गर्ने खेलाडी बनेका छन्।
बुधबार इटालिय सिरि ए को खेलमा सासुओलोविरुद्ध गोल गर्दै रोनाल्डोले युभेन्ट्सका लागि छिटो सय गोलको रेकर्ड बनाएका हुन्।
रोनाल्डोले १३१ खेलमा सय गोल पूरा गरेका हुन्। रोनाल्डोले तेस्रो सिजनमै सय गोल पूरा गरेका हुन्। यसअघि ओमार सेभोरी र रोबर्टो बाजियोले पाँच सिजनमा सय गोल पूरा गरेका थिए।
रोनाल्डोले युभेन्ट्सका लागि २०१८-१९ सिजनमा २८ गोल, २०१९-२० मा ३७ गोल र जारी सिजनमा ३५ गोल गरेका छन्।
रोनाल्डो तीन क्लबका लागि सय गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन्। यसअघि रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि पनि सय गोल पूरा गरेका थिए।
यता रोनाल्डोले सय गोल पूरा गरेको खेलमा अर्का युभेन्ट्सका फरवार्ड पाब्लो डिबालाले पनि सय गोल पूरा गरेका छन्।
रोनाल्डो र डिबालाले सय गोल पूरा गरेको खेलमा युभेन्ट्सले ३-१ गोलको जित हात पार्यो।
खेलमा रोनाल्डोले ४५ र डिबालाले ६६ मिनेटमा गोल गरेका थिए। त्यसअघि रबिओटले २८ मिनेटमा गोल गरेर युभेन्ट्सलाई अग्रता दिलाए।
खेलमा युभेन्ट्सका गोलकिपर बुफोनले सासुओलोका बेरान्डीले पहिलो हाफमा हानेको पेनाल्टी बिफल परेका थिए। ४३ वर्षीय बुफोनले सिजनको अन्त्यबाट क्लब छाड्ने घोषणा गरिसकेका छन्।
जितसँगै युभेन्ट्सले शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने आसा जीवित राखेको छ। पाँचौ स्थानको युभेन्ट्सले अन्तिम २ खेलअघि ७२ अंक जोडेको छ। चौथो स्थानमा रहेको नापोलीको ७३ अंक छ।