काठमाडौं । देशकै सबैभन्दा ठूलो र बढी कारोबार हुने काठमाडौंको कालीमाटीस्थित कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द भएको छ।
कालीमाटी तरकारी बजार समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार बजार बन्द गरिएको हो।
कालीमाटी तरकारी बजारमा आजदेखि थोक बजारमा हुने खुद्रा कारोबार र भोलिदेखि खुद्रा बजार बन्द गर्ने निर्णय भएको हो।
अब थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गरिनेछ। जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्नुपर्ने निर्देशन दिएको छ ।
समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ।
काठमाडौं लगायत देशैभरी कोरोना भाइरस संक्रमण तीव्र बनेपछि यसको नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।