आज: १३ मंसिर २०८१, बिहीबार | Thu, 28, Nov, 2024

संक्रमित पत्रकारको घरमा औषधि पुर्याउँदै पत्रकार महासंघ

गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार ११:२० मा प्रकाशित (३ साल अघि) ३८५ पाठक संख्या

 झापामा कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासंघ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान सुरु गरेको छ ।

शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार संक्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेसनमा रहेका छन् ।

पौष्टिक आहारका रूपमा ओखर, काजुलगायतका फलफुल र औषधिका रूपमा अश्वगन्धा, गुडुची, जेठी मधु, त्रिकटलगायतका १० प्रकारका आयुर्वेदिक जडीबुटी पत्रकारहरुको होम आइसोलेशनमै पुर्याइएको हो ।

शाखाका अध्यक्ष एकराज गिरीले महासंघको टोली पोषिलो आहार र औषधिसहित घरघरै पुग्दा सङ्क्रमित पत्रकारहरुको स्वास्थ्य अवस्था बुझ्न र आवश्यकताबमोजिम चिकित्सकीय सुविधाका लागि पहल गर्न सजिलो भएको बताए ।

कोभिडसँग जुधिरहेका बेला पत्रकार महासंघको टोलीले होम आइसोलेसनमै आएर पौष्टिक आहार, जडीबुटी र विज्ञ परामर्श उपलब्ध गराउँदा आत्मबल उच्च भएको कान्तिपुर दैनिकका झापा समाचारदाता पर्वत पोर्तेलले बताए ।

पत्रकार महासंघको झापा शाखाले कोभिडका हजारौँ बिरामीको उपचार गरिसकेका चितवन अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा.गोविन्द कँडेलसँग कोरोना सक्रमणबाट बच्ने उपाय र संक्रमितले स्वास्थ्य हेरचाहमा ध्यान दिनुपर्ने विषयमा भर्चुअल परामर्श सेवा प्रदान गरिसकेको छ ।