आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

नेपालमा अब द्वन्द्व छैन : प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार २०:३१ मा प्रकाशित (३ साल अघि) ३७८ पाठक संख्या

काठमाडौं । नेपालमा अब द्वन्द्व नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच तीनबुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
त्यस्तै, विप्लवले एउटा ठूलो ऐतिहासिक योगदान गरेको ओलीले बताए । अहिले नेपाली जनताले शान्ति चाहेको, लोकतन्त्रको प्राप्ति र रक्षा, राष्ट्रियता र स्वाधिनतासहित शान्तिपूर्ण वातावरणमा बाँच्न चाहेको बेला हिंसात्मक राजनीतिक छाडेर शान्तिपूर्ण राजनीतिकमा आएकोमा बधाई तथा शुभकामना दिएका छन् ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएका हुन् ।
दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको सहमति पत्रको पहिलो बुँदामा उल्लेख छ । दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्न भनिएको उल्लेख छ ।
यस्तै तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने भनि उल्लेख गरिएको छ ।