११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनर्स्थापना गरे पछि राजनीतिक दलका नेताहरुबाट निर्णयको स्वागत गर्दै विभिन्न प्रतिक्रियाहरु आएका छन् ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले अदालतको फैसलाको प्रशंसा गर्दै काँग्रेसले निर्णयको स्वागत गर्ने बताएका छन् ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन पछि अदालत प्रतिको जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।सभामुख सापकोटाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि प्रतिक्रिया दिंदै अदालत प्रतिको जन विश्वास बढेको बताएका छन् ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनस्र्थापना हुँदा नेपाली जनताको जित भएको बताएका छन् ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेर देशलाई दुर्घटनाबाट बचाएको बताएका छन् ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रान्तिकारी कदम सच्याइदिएको बताएका छन् ।
पूर्वसभामुख दमननाथ ढुंगानाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान लिगमा आएको बताएका छन् ।संवैधानिक इजलासले मंगलबार संसद विघटन गर्ने निर्णय खारेज लगत्तै उनले भने, ‘यो फैसलाले संविधान लिगमा आएको छ ।’
नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता श्रेष्ठले ‘सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको छ । संविधान र लोकतान्त्र रक्षा गर्न काम गरेको छ । राजनीतिक संकट गहिरिएर मुलुक अँध्यारो सुरुङमा जाने खतराबाट जोगाएको छ ’ भन्दै अब प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने माग गरेका छन् ।