काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।
सभापती देउवाले सोमबार ट्वीट गर्दै सुकीलाई तुरून्तै रिहा गर्न आग्रह गरेका हुन्। साथै निर्वाचित सरकारको पुनर्स्थापना गर्न पनि उनले आग्रह गरेका हुन्।
नेपाली कांग्रेस आङ सान सुकीलाई तुरून्तै रिहा गर्न र निर्वाचित सरकारको पुनःस्थापना गर्न म्यानमारको सेनालाई आग्रह गर्दछ, उनले ट्विटमा लेखेका छन्।
सोमबार बिहानै म्यानमारको सेनाले नेतृ सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ।
सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणासमेत गरेको छ। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेतालाई पक्राउ गरिएको सेनाले जनाएको छ।
आज बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ।
म्यानमारमा केही समयदेखि सैनिक ‘कू’ हुने हल्ला चलिरहेको थियो।
नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी ९एनएलडी०ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।
सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो।
सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थिएन। गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।
आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो।
म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो।