आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

सार्वजनिक बिदामा विद्यालय सञ्चालन

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार ०६:४८ मा प्रकाशित (३ साल अघि) ५२९ पाठक संख्या

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको बसेको बैठकले यहाँका सबै विद्यालय हप्ताका सातै दिन सञ्चालन गर्ने निर्णय गरेको हो । यहाँका विद्यालयमा शुक्रबार पूरै दिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप शुरु गरिने नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।

नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुनेछ । बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरि सञ्चालन हुने र २०७८ जेठदेखि अर्को शैक्षिकसत्र सञ्चालन गर्ने गरी कार्ययोजना नगर कार्यपालिकाको बैठकबाट पारित भएको नगर प्रमुख केसीले राससलाई जानकारी दिए ।

विसं २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि शुरु गरेको थियो । प्रधानाध्यापकले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीको भनाइ छ ।

सो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएका छन् । जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन शुरु गरेको थियो । त्यस्तै जाजरकोटको नलगाड र भेरी नगरपालिकाले समेत विद्यालय सञ्चालन ल्याएका छन् । रासस