आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

नेकपा विवादः राष्ट्रपतिसँग छुट्टाछुट्टै भेट, टसमस भएनन् ओली–प्रचण्ड

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार ०७:१० मा प्रकाशित (३ साल अघि) ७५९ पाठक संख्या

काठमाडौं । सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन् । दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ ।

दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ । तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेताहरूले घचघच्याइरहेका छन् । सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै ‘अर्थपूर्ण’ भेटघाट गरेका छन् ।

नेताहरूले २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ–आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका छन् । दुवै पक्ष भने टसमस देखिएका छैनन् । ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत÷अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहेका छन् । दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए ।

परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा टोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए । तर, यसपटक उनीहरूको प्रयास कामयावी हुन सकिरहेको छैन । उनीहरूका दबाब अध्यक्षद्वयले स्विकारिरहेका छैनन् । यस्तो बेला राष्ट्रपति भण्डारीले आफ्नो तहबाट नेकपाभित्रको विवाद समाधान गर्न दुई अध्यक्षलाई मिलाउन सक्रियता देखाउन थालेको स्रोतको भनाइ छ ।

भण्डारीसँग बिहीबार दिउँसो ओली र साँझ दाहालले गरेको भेटवार्ता मध्यस्थताको भूमिका निर्वाह गर्न रहेको बताइन्छ । राष्ट्रपतिले सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र मंगलबार कृषिमन्त्री घनश्याम भुसालसँग भेट गरेकी थिइन् । राष्ट्रपतिले कात्तिक १८ मा उपाध्यक्ष वामदेव गौतम र २० गते गृहमन्त्री रामबहादुर थापासँग पनि छलफल गरेकी थिइन् ।

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता नियमित भएको तर दाहालसँगको भेटवार्ता अध्यक्ष दाहालले चाहेर भएको शीतल निवास स्रोतले बताएको छ । तर, भेटमा भएका कुराकानीबारे भने खुल्न सकेको छैन ।

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि भेट गरेका थिए । उता, दाहालले पनि महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत नेताहरूसँग छलफल गरेका थिए ।

ओलीसँग दाहालको प्रत्यक्ष संवाद हुन नसकिरहेका बेला पौडेल र नेम्बाङ बिहीबार खुमलटार पुगेका थिए । पौडेलले दुवै अध्यक्षले सचिवालयमा पेस गरेको प्रस्ताव थाती राखेर संयुक्त प्रस्ताव तयार पारेर जाने विषयमा दाहालसँग आग्रह गरेका थिए । दाहालले त्यसमा अरुचि देखाएको खुमलटारनिकट स्रोतले बताएको छ । त्यसमा दाहालले ओलीको प्रस्तावको जवाफसहित आफूले पूरक प्रस्ताव तयार पारिरहेको, आउने पार्टी बैठकमा छलफलका लागि राखेर जान चाहेको जवाफ दिएर फर्काएको स्रोतको भनाइ छ ।

‘दुवै अध्यक्षहरू आफ्ना अडानमा टसमस देखिनुभएको छैन । तापनि पार्टी एकता जोगाउनुपर्ने पक्षमा भने दुवै अध्यक्ष हुनुहुन्छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘तर, मिलनबिन्दु के खोज्ने भन्नेमा मेसो फेला परेको छैन ।’ पौडेलले बिहीबार दाहालसँग भेट गरेका थिए ।

नेम्बाङले पनि पार्टी टुटफुट हुन दिनुहुँदैन भन्नेमा दुवै अध्यक्ष देखिए पनि सहमतिको सूत्र भने फेला परिनसकेको बताए । ‘अध्यक्ष प्रचण्डले आउनुहोस् छलफल गरौं भनेर बोलाउनुभएको थियो । म पुगेँ । तर उहासँग विशेष केही कुराकानी हुन पाएन । उहाँको राष्ट्रपतिसँग भेट्न जाने कार्यक्रम सेडुअल जुधेछ । एकछिन बसियो । म तपाईंलाई फेरि बोलाउँछु । अलिक लामो समय लिएर बस्नुपर्छ भन्नुभयो । सायद फेरि बोलाउनुहुन्छ कि’, नेम्बाङले अन्नपूर्ण पोस्ट्सँग भने । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।