आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

गगन थापाको त्यो दूरदर्शी योजना तर कम्युनिष्टले शिलान्यास गर्नै लगाए ३ वर्ष

गोकर्णेश्वर खबर१६ मंसिर २०७७, मंगलवार १५:३४ मा प्रकाशित (४ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं – हिजो सोमवार देशभरका ३०९ वटा पालिकामा ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको शिलान्यास गरियो । जसलाई कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको चमत्कारी कामको रूपमा व्याख्या गरिएको छ ।

ओली प्रधानमन्त्री बनेको झण्डै ३ वर्षसम्म पनि सरकार शिलान्यासको प्रारम्भिक काममै सीमित रहेको छ । तर स्वास्थ्य पूर्वाधार निर्माण गर्ने दूरगामी योजना भने नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा स्वास्थ्यमन्त्री भएको बेला अगाडि बढेको पाइएको छ । छोटो समय स्वास्थ्यमन्त्री भएका गगन थापाले अगाडि बढाएको योजनालाई ३ वर्ष लगाएर शिलान्यासको चरणमा पुर्‍याएको कम्युनिस्ट सरकारले प्रचार भने ठूलै गरिरहेको छ । शिलान्यास गर्नै ३ वर्ष लगाउने सरकारले संरचना निर्माण पूरा गर्न कति वर्ष लगाउँला ? जनस्तरमा प्रश्न जन्मिएको छ ।

गगन थापा स्वास्थ्यमन्त्री भएका बेला स्वास्थ्य मन्त्रालयले ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ बनाएको थियो । जुन २०७४ बैशाख २१ गते मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको थियो । मापदण्डमा देशभर स्वास्थ्य पूर्वाधारको परिकल्पना गरिएको थियो । मापदण्डले भवनको पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका बनाउनुका साथै कुन स्थानीय तहमा कस्तो अस्पताल बनाउने टुंगो लगाएको थियो ।

मापदण्ड र निर्देशिका अनुसार अर्थ मन्त्रालयबाट बजेट ल्याउन नपाउँदै गगन थापा स्वास्थ्य मन्त्रीबाट बिदा भएका थिए । ‘एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना’लाई अगाडि बढाउन तत्कालीन सरकारले जग बसाएको थियो । तत्कालीन मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा अन्य थुप्रै सुधारका काम समेत गरेका थिए ।

पूर्वमन्त्री थापाकै दूरदर्शी योजना अनुसार अहिलेको कम्युनिस्ट सरकारले स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन ३९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको जनाइएको छ ।