आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

नेपाली कांग्रेसको महाधिवेशन नसर्ने, फागुनमै गर्ने तयारी

गोकर्णेश्वर खबर१६ मंसिर २०७७, मंगलवार ०७:०० मा प्रकाशित (४ साल अघि) ४३६ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन निर्धारित मिति आगामी फागुनमै हुने भएको छ । कांग्रेसले यसअघि नै २०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति तोकिसकेको छ ।

महाधिवेशनको मिति पर सार्दा विभिन्न झमेला आइपर्ने भएकाले सभापति शेरबहादुर देउवाले फागुनमै गर्ने गरी तयारी अघि बढाउन निर्देशन दिएका छन् ।

यसअघि कोरोना भाइरसलाई देखाउँदै कांग्रेस महाधिवेशन सर्न सक्ने आकलन गरिएको थियो । यदि नेकपामा विवाद उत्पन्न भई विग्रह भएमा तथा मुलुक अली निर्वाचनमा गएमा त्यसका लागि तयार भएर बस्नुपर्ने भएकाले पनि कांग्रेसको महाधिवेशन नसर्ने उच्च स्रोतले जनाएको छ ।

कांग्रेसमा उपसभापति विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलालगायतका नेता महाधिवेशन सार्नुपर्ने पक्षमा छन् । कांग्रेसको महाधिवेशन सार्दा कतै मुलुक आमनिर्वाचनमा होमिने अवस्था आएमा कोरोनालाई बहाना बनाएर कम्युनिस्टहरूले सत्ता लम्ब्याइरहेमा कांग्रेसलाई नैतिक संकट आइपर्ने देखिएकाले पनि कांग्रेसको महाधिवेशन फागुनमै गर्ने मनस्थितिमा देउवा पुगेको बताइन्छ ।

आगामी वैशाखपछि मुलुकमा जुनसुकै बेला पनि स्थानीय तहको निर्वाचन घोषणा हुन सक्छ । नेकपामा अहिले देखिएको विग्रह सो पार्टीको महाधिवेशनसम्मै लम्बिने र विवादकै कारण जतिबेला पनि प्रदेश र संघीय संसदको निर्वाचन घोषणा हुने अनुमान सभापति देउवाले गरेको एक कांग्रेस नेताले बताए ।