आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

ओलीसँग प्रचण्डले प्रधानमन्त्री मागेपछि फुटको संघारमा नेकपा, अब के होला ?

गोकर्णेश्वर खबर१६ कार्तिक २०७७, आईतवार १९:३९ मा प्रकाशित (४ साल अघि) २७५ पाठक संख्या

१६ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेपछि पार्टी फुटको संघारमा पुगेको छ । ओलीसँगको शनिबारको भेटमा प्रचण्डले प्रधानमन्त्री मागेको प्रचण्ड निकटका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

११ दिनपछि शिनबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा चलेको छलफलमा प्रचण्डले ओलीसँग अब प्रधानमन्त्री पद आफूलाइ दिन प्रस्ताव गरेको उनले बताए । प्रचण्डले प्रधानमन्त्री पद मागेपछि ओलीले तपाइसँग सँगै हिड्न कठिन रहेको बताएको उनले बताए । मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूसँग टाढिएको नेताहरू समेत हटाउन माग गरेका थिए तर ओलीले प्रचण्डको उक्त माग पूरा गर्ने समान्य संकेत समेत नदिएपछि नेताहरू वारपारको लडाइँमा केन्द्रीत भएका छन ।

योसँगै नेकपाका महासचिव विष्णु पौडेलले पार्टीमा गम्भिर संकत उत्पन्न भएको भन्दै प्रचण्ड र ओलीको विवादबारे पुष्टि गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत एकताका जोगाउन लागि पहल गर्न नेता कार्यकर्तामा अपिल गर्दै महासचिवले यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आईपुगेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ ‘यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ । नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

महासचिव पाैडेलले भन्नुभएको छ ‘राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो ।’

उहाँले अघि भन्नुभएको छ ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ ।’