काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको विषयमा तत्काल धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको उहाँको आरोप छ ।
गएको १४ गते कर्णाली प्रदेश सभाका नेता एवं कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले ११ दिन लगाएर गरेको अध्ययन प्रतिवेदनले नाम्खाको लिमीमा चीनले झण्डै दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष निकालेको छ ।
‘दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोध्नु, प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिनु, अध्ययन टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ ।’ विज्ञप्तिमा भनिएको छ ।