काठमााडौं : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ ।
सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आइतबार बिहान साढे ९ बजे अनशन तोड्दै छन् ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएको थियो । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
डा. केसी ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।
स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्। उनी अनशन बसेको २८ दिन पुगेको छ।