काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घन्टामा ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जनासहित पछिल्लो २४ घन्टामा ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार १ सय ७० जनासहित संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ३९ हजार ५ सय ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ६० जनाको ज्यान गएको छ ।