आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

रोनाल्डोले क्रोएसियाविरुद्ध नखेल्ने

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार ०७:३३ मा प्रकाशित (४ साल अघि) २१२ पाठक संख्या

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले यूईएफए नेसन्स लिग अन्तर्गत क्रोएसियाविरुद्धको पहिलो खेल गुमाउने भएका छन् ।

प्रशिक्षण दौरान सामान्य चोट बोकेपछि रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउने भएका हुन् । नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले शनिबार राति घरेलु मैदानमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दै दोस्रो संस्करणको सुरुवात गर्दैछ । पोर्चुगल प्रतियोगिताको साविक विजेता पनि हो ।

चोटकै कारण रोनाल्डो बिहिबारको प्रशिक्षणमा उपस्थित नरहेको पोर्चुगल फुटबल संघले जनाएको छ । ‘क्रोएसियाविरुद्ध रोनाल्डोले खेल्ने सम्भावना न्युन छ । नियमित जिम लिने क्रममा उनले दाहिने खुट्टाको औंलामा चोट बोकेको छ । उनी चोटबाट फर्कने प्रयास गर्दैछन् । सम्भवत शनिबार हुने खेल गुमाउनेछन् । अर्काे खेलमा उपस्थित हुनेमा विश्वस्त छौं ।’

पोर्चुगिज राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डो शतक गोलनजिक छन् । २००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोले हालसम्म १६४ खेलमा ९९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । रोनाल्डोले २०१९ मा १० खेलमा १४ गोल गरे । रोनाल्डोले पछिल्लोपटक १७ नोभेम्वर २०१९ मा लक्जेमवर्गविरुद्धको युरोकप छनोटमा एक गोल गर्दै ९९ गोल पुर्‍याएका थिए । राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्नेमा रोनाल्डो दोस्रो स्थानमा छन् ।

रोनाल्डोभन्दा अघि इरानका अली दाई १०९ गोल रहेका छन् । ५१ वर्षीय अली दाईले १९९३ देखि २००६ को बीचमा १४९ खेलमा १०९ गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले २००६ मा कोस्टारिकाविरुद्ध ३–२ ले पराजित भएको मैत्रीपुर्ण खेलमा १ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १०९ पुर्‍याएका थिए । ३५ वर्षे रोनाल्डो इरानका अली दाईको कीर्तिमान भेट्टाउने लक्ष्यमा छन् ।