आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

धनुषामा एकैपटकमा ४ शिशु जन्माएपछि महिलाको मृत्यु

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार २३:३३ मा प्रकाशित (४ साल अघि) ३०१ पाठक संख्या

जनकपुरधाम – धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृत्यु भएको छ ।

जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् ।

बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए ।

महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले बताए ।