सुपरस्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाटको बिदाई सहज नहुने देखिएको छ, उनको रिलिज क्लजका कारण ।
मेस्सीलाई अनुबन्धित गर्न चाहने क्लबले ७०० मिलियन युरोपको रिलिज क्लज पूरा गर्नु पर्ने हुन्छ । जुन १० सम्ममा मेस्सीले क्लब छोड्न चाहेको जानकारी गराएको भए उनी स्वतन्त्र मूल्यमा अरु कुनै क्लब अनुबन्धित हुन सक्थे ।
तर अब भने उनलाई भित्र्याउन चाहने क्लबले अत्याधिक मोटो रकम बुझाउनु पर्ने छ बार्सिलोनालाई । मेस्सीले गएको हप्ताको मंगलबार क्लबलाई पत्र लेखी आफू बाहिरिन चाहेको र रिलिज क्लबलाई सहज बनाउन आग्रह गरेका थिए ।
उनको टिमले कोरोना भाइरसको महामारीका कारण सिजन लम्बिएकाले रिलिज क्लजमा रहेको जुन १० को सीमा पनि लम्बिनु पर्ने बताउँदै आएको छ ।
तर ला लिगाले बार्सिलोनासँगको मेस्सीको सम्झौतामा उल्लेख ७०० मिलियन युरोको रिलिज क्लब प्रभावकारी नै रहेको बताएको हो ।