आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

मन्त्रिपरिषद बैठक : कोरोनाको भयावह रोक्न सबै मन्त्रीको एउटै सुझाव ‘लकडाउन’

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार २१:१५ मा प्रकाशित (४ साल अघि) २५९ पाठक संख्या

काठमाडौं । सम्भवतः वर्तमान मन्त्रीपरिषद बैठकमा सबै मन्त्रीले एउटै बैठकमा पहिलोपटक बोलेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा सबै मन्त्रीसित राय मागिएको थियो ।

मन्त्रिपरिषद बैठकको सुरुवातमा राष्ट्रकवि माधव घिमिरेको निधनमा शोक प्रस्ताव पारित गर्दै सुरु भएको थियो । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार, त्यसपछि बाढी पहिरो पीडितलाई राहत तथा उद्दारका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडितलाई तत्काल राहत र उद्दारका लागि निर्देशन दिएका थिए ।

त्यसपछि प्रधानमन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा अघि बढाएका थिए । सीसीएमसीले कोरोना रोकथाम तथा नियन्त्रणका बारेमा पहल कदमीका बारेमा संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ब्रिफिङ गरेका थिए । त्यसपछि सबै मन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा बोलेका थिए ।

मन्त्रीहरुले विगतमा गरिएको लकडाउन र अहिले देशका अधिकांश जिल्लामा भएका निषेधाज्ञा लगायतका विषयमा समीक्षा गर्दै आगामी दिनमा अघि बढ्ने विषयमा सुझाव दिएका थिए । सबै मन्त्रीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्नुको विकल्प नभएको सुझाव दिएका थिए । लकडाउनसँगै परीक्षणको दायरा बढाउन र लकडाउनले समस्यामा पर्नेहरुलाई राहत दिने लगायतका विषयमा सुझाव राखेका थिए ।

मन्त्रीहरुको रायलाई सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री पोखरेल र मुख्यसचिवले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा ढोस प्रस्ताव बनाएर प्रधानमन्त्रीलाई बुझाउने र प्रधानमन्त्रीको सुझावको आधारमा निर्णयमा पुग्ने भएको छ ।

एक अर्का मन्त्रीले भने कोरोना संक्रमणको भयावह स्थिति नियन्त्रण गर्नका लागि निश्चित समयसम्म लकडाउनमा जाने सरकारको तयारी छ । तर, लकडाउन मात्र नगरी लकडाउन गरेपछि अपनाउने रणनीतिसमेत तय गरेर अघि बढ्ने तयारीमा रहेको ती मन्त्रीले बताए ।