एजेन्सी । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट नमिठो हार ब्यहोर्दै बाहिरिएको छ ।
गएराति भएको क्वार्टरफाईनल खेलमा फ्रान्सेली क्लब लियोनसंग तीन एक गोल अन्तरले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलको २४औं मिनेटमा म्यासवेल कोर्नेटको गोलमा लियोनले सुरुवाती अग्रता बनाएको थियो ।
केभिन डी ब्रुईनीले खेलको ६९औ मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए ।
डिबक्स भित्र रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा ब्रुईनीले गोल गरेका थिए ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेम्बेलेले लियोनलाई जित दिलाउने काम गरे ।
सेल्टिकका पूर्व फरवार्ड डेम्बेले खेल सकिन ११ मिनेट अघि लियोनलाई २–१ गोल अन्तरले अघि बढाए ।
खेल सकिन तीन मिनेट अघि डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्दै लियोनको जित सुनिश्चित गरे ।
यो पराजयसंगै सिटी च्याम्पियन्स लिगबाट बाहिरिनु पर्यो ।
लियोनले अब सेमिफाईनलमा जमर्न क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।