आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ९८ पुग्यो

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार २१:५४ मा प्रकाशित (४ साल अघि) २६६ पाठक संख्या

काठमाडौं  -कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९८ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् ।
कोरोना संक्रमणबाट बाराको दुई तथा धनुषा र अछामका एकएक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुषमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । ४र५ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएका उनलार्इ बुधबार बिहान अचानक स्वास फेर्न गाह्रो भएपछि नेशनल मेडिकल कलेज पुगेका उनको मध्यान्ह नारायणी अस्पतलमा रिफर गरिएको थियो ।

भेन्टिलेटरमा उपचाररत उनको बिहीबार बिहान ९ बजेतिर उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको छ ।

अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।