आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

गोंगबु हत्याकाण्ड : आर्थिक लेनदेनसँगै अन्य विवाद पनि जोडिएको प्रहरीको भनाई,मृतकको लिंग पनि काटिएको अवस्था

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार २२:१८ मा प्रकाशित (४ साल अघि) ४७१ पाठक संख्या

काठमाडौं – गोंगबु हत्याकाण्डमा संलग्न भन्दै चितवनबाट पक्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच आर्थिक लेनदेनका कारण मतभेद रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकी महिला भाडामा बसेको घरमा मृतकको धेरै आउजाउ हुने गरेको थियो। हत्या भएको रात ती महिला काठमाडौंमै थिइन्। उनी शव फ्यालेर निजी गाडीमा चितवन गएको प्रहरीको दाबी छ।

मृतक बोहराले व्यापार गर्ने भन्दै शाहीसँग पटकपटक ठूलो परिणामको रकम लिएको अनुसन्धानमा देखिएको छ, ती अधिकृतले भने,बोहराले दोहरी साँझ खोल्ने भन्दै महिलासँग ठूलो रकम लिएका थिए। योजनाअनुसार दोहरी साँझ नखोलेपछि मृतक र महिलाबीच मतभेद बढ्दै गयो।

यो हत्याकाण्डमा आर्थिक लेनदेनसँगै अन्य विवाद पनि जोडिएको हुनसक्ने प्रहरीको अनुमान छ।

सुटकेशमा भेटिएको टाउकोबिनाको शरीरमा मृतकको लिंग काटिएको अवस्थामा फेला परेको थियो, शवको प्रकृति औंल्याउँदै अनुसन्धान अधिकृतले भने, यस्तो क्रूर तरिकाबाट टाउको एकातिर, हातखुट्टा अर्कातिर र लिंगसमेत काटिएकाले आर्थिक लेनदेन सँगसँगै अरू विवाद पनि जोडिएको हुनसक्छ।

पक्राउ परेकी महिला एक्लैले यस्तो किसिमले हत्या गर्न नसक्ने पनि प्रहरीको भनाइ छ। उनले भाडाका मानिस ल्याएर बोहराको हत्या गराएको हुनसक्ने प्रहरीले जनाएको छ।

आइतबार बिहान काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशभित्र एक अधवैंशे पुरुषको शव फेला परेको थियो। नग्न अवस्थामा भेटिएको उक्त शवको जीउ मात्र थियो, टाउको थिएन।

अनुसन्धानमा जुटेको प्रहरी टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा जीउ भेटिएको दुई सय मिटर पर टाउको र खुट्टा भेट्यो। शव सनाखत गर्न नसकेपछि प्रहरी टोली कहाँबाट र कसरी अनुसन्धान गर्ने भनेर अलमलमा परेको थियो। आसपासका मानिसलाई सोध्दा पनि उनलाई चिन्ने कोही भेटिएनन्।
सोमबार अपराह्न भने मृतकलाई चिन्ने एक जना व्यक्ति प्रहरी सम्पर्कमा आए। उनकै मद्दतले मृतकको पहिचान खुल्यो। उनी दाङ घर भई बालाजु क्षेत्रमा बस्दै आएका कृष्णबहादुर बोहरा रहेछन्।

प्रहरीले यो घटनामा संलग्न भएको आशंकामा सोमबार साँझ चितवनबाट कल्पना शाहीलाई पक्राउ गर्यो। उनलाई अहिले काठमाडौं ल्याइँदै छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिने महानगरीय अपराध महाशाखाले जनाएको छ।