लन्डन : इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले अस्ट्रियन क्लब लास्कलाई २–१ गोलले हरायो। युनाइटेड समग्रमा ७–१ गोलले विजयी भयो। यसैगरी अर्को खेलमा इन्टरले स्पेनिस क्लब गेटाफेलाई २–० गोलले स्तब्ध बनायो। यसअघिको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको इन्टरले बुधबार राति घरेलु मैदानमा सानदार प्रदर्शन गरेको थियो।
म्यानचेस्टर युनाइटेडको जितमा जेसे लिङगार्ड र एन्थोनी मार्सियलले एक÷एक गोल गरे। लास्कका लागि फिलिप वेइसिंगरले गोल गरेका थिए। पुनरागमन जित निकालेको सिटीका लागि लिङगार्डले ५७औं मिनेटमा गोल गरेका थिए। मार्सियलले ८८औं मिनेटमा गोल गर्दै युनाइटेडको जित पक्का बनाए। यसअघि फिलिपले ५५औं मिनेटमा सुरुआती गोल गरे पनि टोलीको हार टार्न सकेनन्। क्वार्टरफाइनलमा युनाइटेडले डेनमार्कको क्लब एफसी कोपेनहेगनसँग प्रतिस्पर्धा गर्नेछ।
बुधबार राति नै भएको खेलमा कोपेनहेगनले टर्कीको इस्तानबुल बसाकसेहिरलाई ३–० गोलले हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
यसैगरी घरेलु मैदानमा इन्टरलाई जिताउन बेल्जियन स्टार रोेमेलु लुकाकुले ३३औं र क्रिस्टियन इरिक्सनले ८३औं मिनेटमा गोल गरेका थिए। क्वार्टरफाइनलमा इन्टरले रेन्जर्स र बायर लिभरकुसनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा युक्रेनको साख्तर डोनेक्सले जर्मन क्लब उल्फ्सवर्गलाई ३–० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। साख्तर समग्रमा ५–१ गोलले विजयी भयो।