काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पुर्वी तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।
देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
त्यस्तै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा पर्ने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।