काठमाडौं – विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर पर्यो।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गर्यो।
यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि परे। उनी यसबीचमा चार महिना बन्दाबन्दीमा घरमै बसे।
“समय व्यतित गर्न निकै गाह्रो भयो”, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, “घरमा बस्दा बस्दा निकै छटपटी भयो।”
गत असार २२ गते लामिछानेले सुखद खबर प्राप्त गरे। ट्रिनिडाड एण्ड टोबागोमा भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि उनी छनोट भएको खबर आयो। जमैका तलावाजले लामिछानेलाई १ लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गर्यो।
तर उनलाई बन्दाबन्दीमा ट्रिनिडाड एन्ड टोबागो कसोगरी पुग्ने भन्ने चिन्ताले सतायो।
नेपालमा अझै आगामी भदौ १ गतेसम्मका लागि अन्तरराष्ट्रिय हवाई उडान बन्द थियो। “हिजोसम्म सिपिएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो”, लामिछानेले भने, “आज जहाजको टुङ्गो लाग्यो, अब सिपिएल खेल्न उत्साहित छु ।” पछिल्लो समय जहाजको टुङ्गो नलाग्दा कैयौँ रात निद्रा नै भङ्ग भएको उनको भनाइ थियो । “जे होस् अब जान पाइने भयो, अब खेल्ने पाइनेमा ढुक्क छु”, आफ्नो गृह मैदानमा खुशी हुँदै लामिछानेले भने ।
कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय हवाई उडान बन्द भएकाले लामिछाने सिपिएल गुमाउने अवस्था थियो। अन्तिम समयमा चार्टर्ड विमानमार्फत उनी बिहीबार दक्षिण कोरियाहुँदै ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो।
लामिछानेको यात्रा सुनिश्चित गराउनमा उनका व्यवस्थापक रमन शिवाकोटीको भूमिका अहम छ। शिवाकोटीको हप्तौँको दौडधूपले लामिछानेको ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो।
“पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायतको सहयोगले सन्दीप खेल्न जाने टुङ्गो लागेको हो”, शिवाकोटीले भने । सन्दीपको हवाई उडानका लागि केही खेलप्रेमीको रातदिनको दौडधूप सम्झिन लायक रहेको उनको भनाइ थियो । “हाम्रो व्यक्तिगत प्रयासले सिपिल खेल्न पाउने सम्भावना थिएन”, उनले भने।
बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्। यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ।
“त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, लामिछानेले भने।
सिपिएल खेल्न जानुअघि उनले मङ्गलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराए। उनले परीक्षणको रिपोर्ट आज प्राप्त गरे। “कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, अब ढुक्कका साथ जान पाउने भए”, लामिछानेले भने।
लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसियासँग खेल्नेछ।
ट्रिनिडाड एन्ड टोबागोबाट लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमेरेटस् (युएई) जानेछन्।
कोरोना महामारीका कारण यसपटक आइपिएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएइमा हुँदैछ। लामिछाने आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन्।
लामिछाने तेस्रोपटक आइपिएल खेल्न लागेका हुन्। “अब चाँडै नेपाल फर्किने सम्भावना छैन, तर जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका खेल्छु”, लामिछानेले छुट्टिने बेला भने।