आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नेकपा विवाद: केन्द्रीय कमिटी बोलाउन गरिएको हस्ताक्षर अभियान पुरा

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १५:५५ मा प्रकाशित (४ साल अघि) ४६५ पाठक संख्या

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद समाधानका प्रयासहरु भइरहेका छन् ।

स्थायी कमिटि हुँदै सचिवालयसम्मले विवाद समाधान हुन नसकेपछि केन्द्रीय कमिटि बैठक बोलाउन माग राख्दै नेताहरुले हस्ताक्षर अभियान थालेका थिए ।

केन्द्रीय कमिटी बैठक बोलाउन केन्द्रीय सदस्य ठाकुर गैरेलगायतको नेतृत्वमा भएको हस्ताक्षर संकलन लगभग पुरा भएको छ । केन्द्रीय कमिटी बैठक बोलाउन विधानतः एक चौथाई केन्द्रीय सदस्यको आवश्यक्ता पर्ने हुँदा करिब १२० केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिएको नेता गैरेले लोकपथलाई बताए । “पार्टी भित्रको विवाद समाधानका लागि केही निर्णय भोलीको स्थायी कमिटी बैठकमा पनि हुन्छ, मिल्न नसकेका विवादहरु केन्द्रीय कमिटि बैठक मार्फत प्रयास थालिएको हो ।” उनले भने ।

साथै केहिदिन पछि अध्यक्षद्यलाई भेटेर उक्त हस्ताक्षर बुझाउने र केन्द्रीय कमिटि बोलाउनका लागि दवाव सिर्जना गरिने उनले बताए ।

नेकपाको स्थायी कमिटि बैठक भोली बस्दैछ । लामो समयपछि गत असार १० गतेबाट शुरु भएको बैठक असार १६ गतेसम्म बसेको थियो । असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दिएको अभिव्यक्तिपछि विवाद एकाएक बढेको थियो । असार १६ गते बसेको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजिनामा समेत मागेका थिए । त्यसपछि निरन्तर स्थायी कमिटि बैठक स्थगित हुँदै आइरहेको छ ।