आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

५ वटा प्रदेशमा भारी वर्षाको संम्भावना,सतर्क रहन अनुरोध

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार १०:५६ मा प्रकाशित (४ साल अघि) ३७० पाठक संख्या

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

आज देशभर सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा दिउँसो भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यसैबीच राति ३ बजे आसपास तामाकोशी नदी बुस्ती स्थित जलसतहमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेकोमा अहिले तल र घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

बागमती नदीको खोकनास्थित जलसतहमापन केन्द्रमा जलसतह सतर्कता तह तल र घट्दो रहेको क्रममा रहेको विभागले जानकारी दिएको छ ।