आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

धादिङको जवाङखोलामा पहिरोले १२ घर बगायो,८ गाडी पुरिए

गोकर्णेश्वर खबर६ श्रावण २०७७, मंगलवार १९:१८ मा प्रकाशित (४ साल अघि) ७२७ पाठक संख्या

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङ खोलामा सोमबार पहिरोले १२ घर बगाएको छ । गाउँपालिका कार्यालयका अनुसार जवाङ खोलामा सञ्चालित ढुंगाखानीमा पहिरो खसेको हो ।

पहिरोमा कुनै मानवीय क्षति भएको छैन । घर बगाएका १२ परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको गाउँपालिकाका कार्यकारी अधिकृत लक्षण भट्टराईले जानकारी दिए ।

पहिरोले ३ वटा टिपर पुरेको छ भने पाँचवटा एस्काभेटर समेत पुरेको भट्टराईले जानकारी दिए । अविरल वर्षाका कारण अहिले सो क्षेत्रमा विद्युत र इन्टरनेट सेवा बन्द भएको छ । क्षतिको यकिन विवरण संकलन गर्न नसकिएको कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए ।

अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न सडक खण्डहरूमा पहिरोले अवरोध सिर्जना गरेको छ ।

सोमबार नै धादिङको मौवा खोलामा बाढीले पुल बगाउँदा अझै आवतजावत बन्द भएको छ भने अरू पनि विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।