काठमाडौं । आगमी २४ घण्टा मुलुकभर वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टासम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको हो ।
विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाको समेत सम्भावना छ ।
त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।