आज साउनको पहिलो सोमबार, देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा दर्शन गर्न व्रतालुहरु पुग्ने गर्दछन् । तर यसपटकको माहौल फेरिएको छ । विश्वभर फैलिएको कोरोना भाईरस ‘कोभिड १९’ का कारण नेपालमा पनि १७ हजार बढी संक्रमित भएका छन् । यस महामारीबाट बच्न सरकारले गत वर्ष चैत्र ११ गतेदेखी लकडाउन गरेकोमा यस वर्षको आगामी साउन ७ गतेसम्म लकडाउन कायमै छ । तर लकडाउनको मोडालिटी भने असार १ गतेदेखी केही परिमार्जित भएको छ । यसैले मानिसहरु जोर गतेका दिन जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन प्रयोग गर्न निर्देशन दिईएको छ ।
आज, साउनको पहिलो सोमबार भएका कारण र साउनको हरेक सोमबार भगवान् शिवको व्रत बस्ने पूजा आराधना गर्नेहरु नजिकका शिवालयमा गएर भौतिक दूरी कायम गरी पूजाआजा गर्ने तरखरमा छन् । यसैबीच अघिल्ला वर्षहरुमा निकै भिडभाड हुने देशका विभिन्न शिवमन्दिरहरुमा यसपटक उतिसारो भिडभाड नहुने भएको छ । सरकारले हालसम्म मन्दिर जान लगाईएको रोक फुकुवा गरेको छैन ।
साउन र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । त्यसैले भगवान् शिवप्रति आस्था राख्नेहरु भोक तिर्खा सहेर निराशार व्रत समेत गर्दछन् । बोल बमको जात्रा पनि यसै महिनामा हुन्छ । टाढाटाढाबाट निराहार विभिन्न शिवालयमा पुगेर शिवको दर्शन गर्नेहरु उत्तिकै हुन्छन् । तर कोरोनाको कारण यसवर्ष भने यस्ता कार्यक्रमहरु हुने छैनन् । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता अनुरुप यसअगाडीका वर्षमा आईतबार रातको १२ बजेपश्चात् मानिसहरु नुवाईधुवाई गरी चोखो बनेर पशुपतिनाथको दर्शन गरी जल चढाउनका लागि लाईनमा बस्दथे । तर यसपटक अर्थात् यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ ।
पशुपति बिकास कोषले दिएको जानकारी अनुसार यदी दर्शनार्थीहरु पशुपतिनाथ पुगे मन्दिर परिसरबाट दर्शन गरेर फर्कनुपर्छ ।हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको छ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने, विभिनन जिल्लाबाट बोलबम आउने गरेकोमा यस बर्ष भने बोलबोम यात्रा पनि नहुने भएको छ ।
बितेको ३ सातायता नेपालमा कोरोना संक्रमतिको संख्या घटिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरमा पनि क्रमिक रुपमा संक्रमित घटिरहेका छन् । तर जोखिम नघटेका कारण उच्च सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।