आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

बनारसमा नेपालीको जबरजस्ती मुण्डन, ‘जय श्री राम’ लेखेर प्रधानमन्त्री ओलीलाई चेतावनी

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १५:०९ मा प्रकाशित (४ साल अघि) १७७ पाठक संख्या

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भगवान राम नेपाली भएको भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतमा विश्व हिन्दू सेनाले एक नेपाली युवकमाथि चरम अत्याचार गरेको छ । विश्व हिन्दू सेनाले ती नेपाली युवकको जबरजस्ती मुण्डन गरेर उनलाई जय श्री रामको नारा लगाउन पठाएको थियो । विश्व हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष अरुण पाठकले यस्तो गरेका थिए ।

घटनाको भिडियो सामाजिक संजालमार्फत जारी गरेका अरुण पाठकविरुद्ध प्रहरीमा उजुरी परेको भारतीय अखबार दैनिक जागरणले लेखेको छ । समाचारअनुसार पाठकविरुद्ध भेलपुर थानामा उजुरी परेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिसँगै विश्व हिन्दू सेनाले एक पोस्टर जारी गरेको थियो । पोस्टरमा प्रधानमन्त्री ओलीलाई माफी माग्दै आफ्नो भनाइ फिर्ता लिन अन्यथा भारतमा नेपालीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।

यो चेतावनीपछि बिहीबार राष्ट्रिय अध्यक्ष पाठक स्वयंले बिहीबार ती नेपाली युवकलाई असी घाटमा समातेर जबरजस्ती मुण्डन गराइ टाउकोमा जय श्री राम लेखिदिएका थिए । ती युवकबाट जबरजस्ती ओली मुर्दाबाद, जय श्री राम जस्ता नारा लगाइएको थियो । यस सम्बन्धमा नगर पुलिस अधीक्षकले आरोपीविरुद्ध कारवाही गरिने बताएको समाचारमा जनाइएको छ ।