आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

करारमा कार्यरत कर्मचारीलाई निकालेको भन्दै नेपाल मेडिकल कलेजमा तालाबन्दी

गोकर्णेश्वर खबर१ श्रावण २०७७, बिहीबार १६:१५ मा प्रकाशित (४ साल अघि) २२४९ पाठक संख्या

काठमाडौं – नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको भन्दै स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ ।

युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ ।

युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएको लिखित सम्झौताअनुसार कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको जानकारी दिए ।

उनले भने, “अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि आन्दोलन गर्न बाध्य भएका हौँ । महामारीका समयमा रोजगारी खोसिनु राम्रो होइन । छिटोभन्दा छिटो उनीहरुको पुनःबहाली गर्नुपर्ने हाम्रो माग छ ।”

यस्तै कलेजमा रहेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले कोभिड १९ विरुद्ध खटिएका स्वाथ्यकर्मीको करार रद्ध गर्ने तयारी भएको थाह पाएको भन्दै त्यसो नगर्न कलेज प्रशासनसंग आग्रह गरेको छ ।

यसलाई कार्यान्वनयमा ल्याउन खोजिए आफूहरु त्यसविरुद्ध उभिने चेतावनी दिए । कलेज प्रशासनले करार सेवामा काम गरेका स्टाफ नर्सको करार सेवा भंग गरेको बताइएको छ ।