काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ । तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ । अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४ सय रुपैयाँ पुग्यो । दुई दशक अघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ ।
साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन् । अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन् । या त, भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन् । नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ । तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ । सामान्य अवस्थामा तोकिएको बिक्री मूल्यमै वा त्यसभन्दा ५ सयदेखि एक हजार रुपैयाँ सस्तोमा उपभोक्ताबाट बिक्रेताले सुन किन्ने गरेका थिए । तर अहिले ५ प्रतिशत मूल्य ह्रास कटाउने गरेको व्यवसायीले नै बताएका छन् ।
आर्यको संस्कृतिसँगसमेत जोडिएको पहेँलो धातुको मूल्य यसरी आकासिनुको एउटै कारण हो–कोरोना । सन् २००८ बाट सुरु भएको वित्तीय संकटका बेला अन्तर्राष्ट्रिय बजारमा चुलिएको सुनको भाउ सन् २०११ को अन्त्यतिर कीर्तिमानी उचाइमा पुगेको थियो । त्यसबेला प्रतिऔंस १८९० अमेरिकी डलर पुगेपछि ओरालो लागेको यो बहुमूल्य धातुको माग अहिले सर्वाधिक बढेको छ । सोमबार १८०२ डलर पुगेको सुनको मूल्य मंगलबार थप चार डरल उक्लिएको छ ।
अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखलामा सुनलाई सबैभन्दा महत्वपूर्ण वस्तु मानिन्छ । संसरमा सीमितिमात्र पाइने अर्थात् ज्यादातर दुर्लभ भएकाले यो धातुको मूल्य उच्च भएको हो । एक सय वर्षअघि सुन र अमेरिकी डलरको भाउमा विपरीत सम्बन्ध हुन्थ्यो । अहिले पेट्रोलियम र सुनको मूल्यमा त्यस्तो विपरीत सम्बन्ध देखिन्छ ।
विश्व अर्थतन्त्र चलायमान भएको र संसारभर नै आर्थिक गतिविधि उच्चदरमा बढेको बेला सुनको भाउ सस्तिन्छ । किनकी, धनि मानिस सुन बेचेर आर्थिक गतिविधिमा पैसा लगानी गर्न थाल्छन् । तर, त्यस विपरीत आर्थिक गतिविधि खस्किए, द्वन्द्व र महामारीको अवस्था सिर्जना भयो भने चाहिँ मानिस सेयर, डिबेन्चरदेखि अन्य सम्पत्ति बेचेर सुन किन्न थाल्छन् । किनभने सुन संसारको सबैभन्दा सुरक्षित लगानी मानिन्छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।