काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको खरो टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै किराँतीले ओलीले प्रधानमन्त्री ओलीबाट प्रचण्डको उपयोगिता सिध्याइदिएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने भए पनि ओलीले नदिने उनको भनाइ छ । प्रचण्डको उपयोगिता सकिएको बताउँदै किराँतीले भने, ‘प्रचण्डको उपयोगिता सकियो । प्रचण्डको उपयोगिता ओलीलाई दुई कामको निम्तीमात्रै थियो, अन्तर्राष्ट्रियस्तरमा प्रचण्डजस्तो विद्रोहीलाई मैले सोझ्याएँ, तह लगाएँ भनेर देखाउनु । र देशभित्रचैँ आफ्नो प्रतिस्पर्धीलाई मातहतमा ल्याउनु । दुईटै काम भइहाल्यो । दुई काम भइसकेपछि प्रचण्डको उपयोगिता सकियो ।
प्रचण्डले भने ओली अब नमान्ने बताएका उनले थप भने, ‘ उपयोगिता सकिएको हुनाले प्रचण्डले भनेको ओलीले मान्नु हुन्छ भन्ने लाग्दैन । मान्दिए राम्रो ।’ओलीसँगको उपयोगिता सकिएको बताएका उनले माधवकुमार नेपाल, झलनाथ खनाललाई ओलीसँग लड्न प्रचण्डको उपयोगिता बाँकी रहेको बताए ।
प्रचण्डसँगै १५ वर्ष राजनीतिक सँगसँगै संघर्ष गरेका अध्यक्ष किराँतीले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेसँगै असोज २०७४ बाट प्रचण्डले दुर्घटनामा पार्दै आफ्नो समूहको माओवादीलाई विलय गराएको टिप्पणी गरे । धेरैले ओलीले प्रचण्डलाई थाङ्ना सुताउन सफलता प्राप्त गर्नु भयो भन्छन् हो ? भन्ने पत्रकार धमलाको प्रश्नको जवाफ दिँदै अध्यक्ष किराँतीले भने, ‘ हो । दुईटा उपयोगिता थियो, सिद्धियो ।’
प्रचण्ड र बाबुराम भट्टराईलाई भारतीय दलाल भनेर गरिने टिप्पणीको खण्डन गरेका उनले दुवै नेताहरु भारतीय दलाली नरहेको बताए । ‘बाबुराम भारतको विश्वसनीय मित्र हुन्, दलाल होइनन् । प्रचण्ड भारतका अविश्वसनीय मित्र हुन्, दलाल होइनन्,’ उनले भने ।