नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उप–महानगरपालिका वडा नम्बर ६ स्थित फुल्टेक्रा ताल र कर्वलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा बाँडफाँडमा सहमति जुटेको हो ।
बैठकमा रंगशाला निर्माण, मुस्लिम समुदायको कर्वला निर्माण, ६ नम्बर वडा कार्यालय तथा हिन्दुहरुको मुर्चुवा पूजास्थल निर्माण लगायतका भौतिक संरचना निर्माणका लागि उप–महानगरपालिकाले प्रस्ताव गरेको नक्सालाई सामान्य हेरफेर गरि पश्चिमतर्फ मुस्लिम समुदायको कर्वला धार्मिक पर्यटकीय स्थल बनाउने, पूर्वतर्फ वडा कार्यालय र पूर्वउत्तर तर्फ हिन्दुहरुको मुर्चुवा पूजास्थल निर्माण गर्ने सर्वसम्मतिबाट निर्णय गर्दै जग्गा बाँडफाँडकालागि वडा कार्यालयमा आवश्यक कागजात पेश गर्ने निर्णय गरिएको छ ।
धार्मिक पर्यटकीय स्थलकालागि छुट्टाइएको जग्गामा आआफ्नो प्रचलन अनुसार पूजापाठ गर्ने तर कुनै किसिमको मन्दिर, मस्जिद, कव्रस्थान र समशानघाट र नियमित पूजा, अजान संचालन नगर्ने निर्णय गरिएको छ ।
राजनीतिक दलका नेता, मुस्लिम समुदायका अगुवा र वडाका जननिर्वाचित प्रतिनिधि लगायतको उपस्थिति रहेको बैठकले नक्सामा बन्ने संरचना निर्माणका लागि उपमहानगरपालिकाले नेतृत्वदायी पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा नगर प्रमुख डा. राणाले लामो समयको प्रयासपछि रंगशाला निर्माणकालागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य सुरु गर्ने बताए । उनले रंगशाला निर्माणका लागि आइसिसी, संघ र प्रदेश सरकारसमक्ष पहल गर्ने बताए ।
यसवर्ष माटो पटानका लागि एक करोड बजेट छुट्टाइएको छ । यसैगरी पर्खाल निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ बजेट रहेको छ । बैठकमा क्रिकेट मैदान स्थान छनौट समितिका संयोजक तथा सहजिकरण समितिका संयोजक सुनिलसिंह हमालले छिटो भन्दा छिटो नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि काम अघि बढ्ने बताए ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य मो. हारुन, नेपालगञ्ज नगर अध्यक्ष डिल्ली बराल, प्रदेशसभा सदस्य मो. याकुब अन्सारी, काङ्ग्रेस नगर सभापति प्रशान्त विष्ट लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
बैठकमा वडा अध्यक्ष सुधीरप्रताप सिंहले वडाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुनु वडाबासी र नगरबासीका लागि खुसीको क्षण भएको बताए ।
११ विगाह ६ कठ्ठा जग्गामध्ये रंगशालाका लागि ३ विगाह ३ कठ्ठा, पेभिलियनका लागि ५ कठ्ठा, कर्वलाका लागि ३ विगाह, हिन्दु मुर्चुवाका लागि २ विगाह ३ कठ्ठा र वडा कार्यालयका लागि ३ कठ्ठा जग्गा छुट्टाइएको छ ।