आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

जाजरकोटमा बाढीपहिरो : ५ सय परिवार विस्थापित, ९ शव भेटिए (अपडेट)

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार ०७:४७ मा प्रकाशित (४ साल अघि) ४७३ पाठक संख्या

जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटमा ५ सय घरपरिवार विस्थापित भएका छन् । जिल्लाको बारेकोटमा ५ सय भन्दा बढी घरपरिवार विस्थापित भएका हुन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट गाउँपालिकाको वडानम्बर ४ जिरीका ३२, गोठगाउँका ८ र मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जानकारी दिएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनागाउँका सर्वसाधारण गाउँभन्दा माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीयले बताएका छन् । वडा नम्बर १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १ सय ५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले विस्थापितलाई २ विद्यालयमा राखिएको जानकारी दिनुभयो । सिंहका अनुसार ५ सय भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जंगलमा बसिरहेका छन् । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान समेत समस्या उत्पन्न भउको छ । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीय जनकबहादुर शाहीले बताउनुभयो ।

९ जनाको मृत्यु
पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा ९ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् । बेपत्ताको खोजीकार्य शनिबार बिहानैदेखि जारी रहेको वडा नम्बर ४ का वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र सर्वसाधारण मिलेर बेपत्ताको खोजी गरिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । राहत लिएर काठमाडौंबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

बारेकोट वडानम्बर ४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका वडानम्बर ९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । त्यस्तै कल्पना सार्की र ६ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ । बारेकोट ४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकोमा अहिलेसम्म शव फेला परेको छैन । पहिरोमा परी घाइते भएकाहरुलाई स्थानीयवासी, जनप्रतिनिधि र नेपाली सेनाको सहयोगमा उद्दार भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताउनुभयो ।

सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितका लागि खानेकुराको अभाव भएको छ । घर छाडेर जंगलमा बसेका सर्वसाधारण खाने कुरा नहुँदा समस्यामा परेका छन् । पहिरोबाट जोगएका स्थानीयहरु अविरल वर्षा परिरहेकाले खुला आकाशमा भिज्दै आफन्तको पीडामा दिन बिताइरहेका छन् ।