काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिडले आलाभेसविरुद्ध सहज जीत निकालेको छ ।
घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा रियलले आलाभेसलाई २-० गोल अन्तरले हराएको हो ।
रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमा र मार्को एसेन्सियोले एक/एक गोल गरे ।
खेलको ११ औं मिनेटमा घरेलु टोली रियलले करीम बेन्जेमाको पेनाल्टी गोलमा अग्रता लियो ।
आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा बेन्जेमाले लिगको १८ औं गोल गरे ।
दोस्रो हाफको सुरुवाती समयमा नै रियलले अग्रता दोब्बर पार्यो । रोड्रीगोको थ्रु पासमा बेन्जेमाले बल अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक भित्र दिएको पासलाई मार्को एसेन्सियोले गोलमा परिणत गरे ।
जीतसँगै शीर्ष स्थानमा रहेको रियलले अंक तालिकामा पुन: ४ अंकको अग्रता कायम गरेको छ । रियलको ३५ खेलमा ८० अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक छ । रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ ।