आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

रोग र भोकबाट जनतालाई जोगाउँछौं : प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार २२:२२ मा प्रकाशित (४ साल अघि) ५०९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन्।

देशबासीका नाममा सम्बोधन गर्दै उनले आफ्नो ध्यान महामारी र विपत्तीमा परेका जनतालाई जोगाउनेतर्फ केन्द्रित रहेको बताए।

दलभित्रको विवादलाई निष्कर्षमा पुर्याउने दायित्व सम्वन्धित दल र नेताकै भएको भन्दै उनले पर्टीभित्रका छलफल र बहस नियमित प्रक्रिया भएको बताए।

उनले आन्तरिक विवादमा अल्झेर कसैले पनि देश र जनताका जीवन रक्षाका सवालमा दायित्वबाट उन्मुक्ति हुन नमिल्ने बताए।

राजनीतिक स्थिरता र स्थायित्वप्रति, आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, भौगोलिक अखण्डता कायम राख्न आफ्नो तर्फबाट दृढ भएर लाग्ने उनको भनाइ छ।

प्रधानमन्त्री केपीशर्मा ओलीले बाढी, पहिरोले देशभर पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले यो वर्ष बाढीपहिरोका कारण ३५ जनाले ज्यान गुमाएको र ३४ जना बेपत्ता भएको बताए।

उनले उद्दारमा सुरक्षाकर्मी परिचालन भइरहेको र राहत प्रदान गरिएको बताए। उनले भने ‘उद्दारमा कुनै कसर बाँकी नराखी सरकारले ध्यान दिँदै आएको छ, मेरो ध्यान आम जनताको जीवन रक्षामा केन्द्रित छ।’

कोरोनालाई परास्त गर्दै नेपाल अघि बढ्न सकेको उनले दावी गरे। कोरोना नियन्त्रणका लागि नेपालमा १ लाख १० हजार ४ सय ६२ सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।