आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

वालुवाटार बैठक: प्रचण्डले भने-‘दुवै पद छाड्नुहोस्,ओलीको जवाफ-‘छाड्दिन,तपाई आफ्नो बाटो लाग्नुहोस्’

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार ००:१३ मा प्रकाशित (४ साल अघि) ४७८ पाठक संख्या

काठमाडौं– स्थायी समिति बैठक रोकेर गरेर नेकपाका शीर्ष नेताहरुले सहमतिबाट अघि बढ्ने कोसिस गरे पनि दुवै पक्ष आफ्नो अडानबाट टसका मस भएका छैनन्।

शनिबार बोलाइएको बैठक सोमबारसम्म स्थगित गरेर नेताहरु द्विपक्षीय तथा बहुपक्षीय छलफलमा जुटे पनि समस्या समाधानको उपाय सुल्झन सकेको छैन। नेताहरुबीच आरोप प्रत्यारोप कायमै छ।

केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले दबाब दिए पनि ओली दुवै पदबाट नहट्ने अडानमा छन्।

यसका कारण सत्तारुढ नेकपाभित्र विवाद बढेर पार्टी विभाजनको तहसम्म पुगेको छ।

विवाद समाधानका लागि आइतबार दुई अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रा तहका नेताहरुसहित छलफलमा बसे पनि फेरि आआफ्नो अडान दोहोर्‍याएका छन्।

छलफलको सुरुमै प्रचण्डले ओलीलाई यसअघि जस्तै दुवै पद छाड्न भनेका थिए। जवाफमा ओलीले पूर्ववत अडान दोहोर्‍याउँदै दुवै पद नछाड्ने बताएको स्रोतले जानकारी दियो।

ओली निकट एक नेताले छलफलमा भएको कुराकानीबारे जानकारी दिँदै भने, ‘आजको छलफलमा पनि अध्यक्ष दाहालले दुवै पदबाट राजीनामा दिन भन्नुभयो। तर अध्यक्ष ओलीले आफू दुवै पद नत्याने जवाफ फर्काउनुभो।’

छलफलमा ओलीले दाहाललाई यसअघि मंसिर ४ गते भएको सहमतिबाट अघि बढ्न सकिने यदि त्यसमा सहमति नभए दाहाललाई आफ्नो बाटो लाग्न चेतावनी दिएका थिए।

ओलीको भनाइ उद्धृत गर्दै उच्च तहका एक नेताले भने, ‘तपाईं मंसिर ४ गते भएको सहमतिबाट अघि बढ्न चाहनु हुन्छ भने बढैं। होइन भने जे गर्न खोज्नुभएको छ, गर्नुहोस्। म पनि आफ्नो ढंगले अघि बढ्छु।’

गएको मंसिर ४ गते स्थायी समितिले ओलीले सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी हैसियतमा पार्टीको काम गरी एकअर्काको काममा अवरोध नगर्ने निर्णय भएको थियो।

दुई अध्यक्षले आआफ्नो अडान राखेपछि बैठकमा सहभागी दोस्रा तहका नेताहरुले सहमतिमै अघि बढ्न सुझाउँदै अवस्था थप त्तित हुन नदिएको स्रोतले बतायो। बैठकमा ओली पक्षबाट ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए भने दाहाल पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा उपस्थित थिए।

उनीहरुले आफूहरुबीच छलफल गरेर सहमतिको खाका तयार पार्ने भन्दै दुवै अध्यक्षसँग अनुमति लिएका छन्। अनौपचारिक कार्यदल नाम दिइएको चार नेताको समूहले सोमबार सहमतिको खाका तयार पार्ने जिम्मेवारी पाएको छ।

दुई पक्षबीच विवाद थप नचर्काउने सहमति भएको छ।

सोमबार स्थायी समिति बैठक अघि पुन दुई अध्यक्षबीच छलफल हुने र उक्त छलफलमा सहमतिको खाका पेश गर्ने जिम्मेवारी अनौपचारिक कार्यदलले पाएको छ। सोमबार बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना रहेको छ।

आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेपछि अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए। राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने प्रयास भइरहेको भन्दै हल्ला चलेपछि त्यसबारे प्रष्ट पार्न दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

कृषि तथा पशुपन्छी मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य घनश्याम भुसालले नेताहरुबीच सहमतिको प्रयास भइरहेको जानकारी दिए।

विवाद समाधानका लागि दोस्रा तहका नेताहरुबीच समन्वयन गरिरहेका भुसालले भने, ‘पार्टीमा देखिएको शक्ति संघर्ष समाधान गर्ने विषयमा विभिन्न कोणबाट छलफल जारी छ। यसअघि भएका सहमतिलाई समेत सम्बोधन गर्ने गरी नयाँ सहमतिबाट अघि बढ्न सकिन्छ कि भनेर हामीले प्रयन्त गरिरहेका छौं।’

नेता भुसालले शीर्ष नेताहरुलाई गलत सूचना सम्प्रेषण गर्दा विवाद झन बढेको उल्लेख गरे।