आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

महावीर पुनले भने, ‘पीपीई बनाउन कपडाको अभाव भयो’

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार १४:१० मा प्रकाशित (४ साल अघि) २५४ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्यकर्मीहरु लगायतलाई न भै नहुने व्यक्तिगत सुरक्षा उपकरण  (पीपीई) तयार पार्नका लागि कपडाको अभाव भएको बताएका छन् ।

आविस्कार केन्द्रका संस्थापक पुनले लकडाउन अगाडि नेपालमा आएको कपडाले पीपीई तयार पारेको भएपनि अहिले कपडा अभाव भएको बताए। लकडाउनका कारण विदेशबाट कपडा आउन छोडेपछि पीपीई सिलाउन प्रयोग गरिने  कपडा अभाव भएको पुनले बताएका हुन्।

ग्लोबल नेप्लिजसँग कुरा गर्दै पुनले भने, ‘अहिलेसम्म हामीले ३० हजार मिटर कपडाबाट  पीपीई निर्माण गरिसकेका छौँ। निर्माण गरिएको पीपीई बांडेर पनि सकिसक्यो । तर अब थप निर्माण गर्न कपडाको अभाव छ।’

‘अहिलेसम्म ९ हजार पीपीई बाडियो’

नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै आविस्कार केन्द्रले आफै  उत्पादन गरेको ९ हजार थान पीपीई बाँडिसकेको  छ। आविस्कार केन्द्रमा उत्पादन गरेको पीपीई नेपालका ५८ जिल्लामा पुगेको पुनले  बताए।

उनका अनुसार केन्द्रमा पीपीई सहयोग लिन आउने सरकारी तथा नीजि क्षेत्रका व्यक्तिहरु, अस्पताल र सुरक्षाकर्मीलाई निशुल्क पीपीई उपलब्ध गराइएको छ।

उनले भने, ‘हामीले हाम्रो केन्द्रमा आउने सबै व्यक्ति तथा संघ संस्थाहरुलाई सक्दो पीपीई उपलब्ध गरायौँ। यसमा हामीले धनी गरिब, सरकारी, नीजि केही पनि हेरेनौँ। कोरोनाले पनि धनी गरिब भन्दैन। त्यसैले हामीले पनि सबैलाई समान व्यवहार गर्यौँ।’

आफूहरुले पीपीई उत्पादन गरेपनि पुराउन भने कतै पनि नगएको उनले बताए । पीपीई तथा अन्य सामग्री आवश्यक पर्नेहरु कीर्तिपुरस्थित आविस्कार केन्द्रमा आएर लाने गरेका छन्।

 १ करोड ६० लाख सहयोग

कोरोना महामारीसँग जुध्नका लागि चाहिने पीपीईसहित अन्य सामग्री निर्माणका लागि आविस्कार केन्द्रलाई अहिलेसम्म १ करोड ६० लाख भन्दा बढी रकम सहयोग आएको छ।

उक्त रकम देश तथा विदेशमा रहेका नेपालीले पठाएका हुन्। यही रकमले उत्पादन गरेका स्वास्थ्य सामग्री आविस्कार केन्द्रले आवश्यक पर्ने क्षेत्र र व्यक्तिलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।

पुनले स्वास्थ्य सामग्री निर्माणका लागि अहिलेसम्म कतै कसैसँग सहयोग रकम मागेका भने छैनन्। स्वदेश तथा विदेशमा रहने नेपालीले  सहयोगी भावना लिएर  उक्त रकम सहयोग गरेको पुन बताउँछन्।

उत्पादनमा २५ जनाको टोली सक्रिय

कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने पीपीई, कोरोना बुथ, मास्क, ग्लोब्स, कोरोना बुट, क्याप, भाइजर, इमरजेन्सी भेन्टिलेटर लगायतका सामग्री उत्पादनका लागि केन्द्रमा यतिबेला २५ जनाको टोली सक्रिय रहेको छ।

२५ जनाको टोलीले लकडाउनभर कीर्तिपुर स्थित केन्द्रमै बसेर स्वास्थ्य सामग्री उत्पादन गरिरहेको पुनले बताए। उनले भने, ‘हाम्रोमा स्वयमसेवक भन्ने हुँदैन। सबैले आ–आफ्नो आइडियामा काम गर्ने हो। यो जागिर खाने काम पनि होइन। अहिले २५ जना भाइबहिनीहरु केन्द्रमै बसेर स्वास्थ्य सामग्री निर्माणको काम गरिरहेका छन्।’

माग बढ्यो, कपडा भएन

नेपालमा कोरोना महामारी दिनप्रतिदिन बढ्दै गइरहेको बेला कोरोनासँग जुध्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको माग पनि बढ्दै गएको छ। तर कपडा लगायतका आवश्यक सामग्रीको अभावमा माग पुरा गर्न नसकेको पुनले बताए।

उनले भने, ‘दिनप्रतिदिन कोरोनाको संक्रमण बढिरहेको छ। त्यही अनुसार हाम्रो केन्द्रसँग स्वास्थ्य सामग्रीको माग पनि बढ्दो छ। तर कपडा लगायत आवश्यक सामग्री अभाव छ। त्यसैले अहिले माग अनुसार सामग्री दिन सकेका छैनौँ।’

यसअघि  जापनिज टेफेटा नामको वाटर प्रुफ कपडाबाट पीपीई सिलाइएको भएपनि अहिले त्यो कपडा बजारमै अभाव भएको छ। उक्त कपडा लकडाउन अघि अन्य विभिन्न कामका लागि नेपाल ल्याइएको थियो । अनुसन्धानका क्रममा उक्त कपडा नै पीपीईका लागि उपयुक्त हुने भएपछि केन्द्रले विभिन्न ठाउँबाट संकलन गरेको थियो।

आविस्कार केन्द्रमा के-के उत्पादन हुन्छन् ?

राष्ट्रिय आविस्कार केन्द्रले कोरोना भाइरससँग जुध्नका लागि विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन गरेको छ। केन्द्रले कोरोना बुथ, मास्क, ग्लोब्स, पीपीई, कोरोना बुट, क्याप, भाइजर, इमरजेन्सी भेन्टिलेटर, भिटिएम (स्वाब संकलन गरेर राख्ने भाँडो) निर्माण गरेको छ।

त्यस्तै केन्द्रले कोरोना भाइरसका बिरामी तथा डाक्टरका लागि खाना पुर्‍याउने रोबोटको पनि निर्माण गरेको छ। केन्द्रले कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डेथबडी ब्याग’ को पनि निर्माण गरेको जनाएको छ।