भक्तपुर : भक्तपुर स्थित चाँगुनारायणको बारीमा घाँस काट्दै गरेकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्दै आएका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।
चाँगुनारायणतर्फबाट आएका उनीहरुले खुकुरी देखाएर आफ्नो बारीमा घाँस काटिरहेकी पार्वती गुरुङको ९९ लाल सुनको एक जोर गहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुको टोलीले तत्कालै स्थानीयवासीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको साँखुका प्रहरी प्रमुख इन्सपेक्टर गोविन्द पन्थीले जानकारी दिए ।
घटना भएको आधा घण्टाभित्रै शंखरापुर नगरपालिका–६ स्थित सलम्बुटारबाट स्थानीयको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको इन्सपेक्टर पन्थीको भनाइ छ ।
पक्राउ परेका उनीहरुको साथबाट गहना लुट्दा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको पन्थीले बताए । उनले भने– ‘थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको छ ।