आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

मलेसियामा अप्ठ्यारोमा परेका नेपालीलाई ३ उडानमार्फत स्वदेश फर्काइँदै, भाडा ४५ हजार १ सय

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार २२:५३ मा प्रकाशित (४ साल अघि) ३७३ पाठक संख्या

काठमाडौं– मलेसियामा अप्ठ्यारो परेका नेपालीहरूको पहिलो चरणमा स्वदेश फिर्तीका लागि ३ वटा उडान तय गरिएको छ।

नेपाल एयरलाइन्सको एक उडान र हिमालय एयरलाइन्सका दुई उडानमार्फत पहिलो चरणमा नेपालीहरू स्वदेश फर्काउने तयारी गरिएको हो।

मलेसिया क्वालालम्पुरबाट १८ जुन (असार ४ गते) बिहीबार हिमालय एयरलाइन्सले उडान भर्नेछ। २० जुन (असार ६ गते) शनिबार नेपाल एयरलाइन्सले उडान भर्नेछ। २१ जुन (असार ७ गते ) आइतबार हिमालय एयरलाइन्सले उडान भर्नेछ।

३ वटै चार्टर जहाजमार्फत सिट क्षमताअनुसार यात्रुहरू स्वदेश ल्याइनेछ। मलेसियाबाट स्वदेश फर्कनका लागि आवेदन दिएकामध्ये तत्काल स्वदेश फर्कनुपर्ने अवस्थाका ३ हजार १७५ लाई पहिलो चरणमा फर्काइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। यसअघि नै उनीहरूको सूची समेत सार्वजनिक गरिएको थियो।

मलेसियामा समस्यामा परेकाहरूलाई पहिलो चरणमा स्वदेश फर्काउन यसअघि ४ वटा उडान तय गरिएको थियो। प्राविधिक कारण देखाउँदै ४ वटा उडानमध्ये १६ जुनको उडान रोकिएको दूतावासले उल्लेख गरेको थियो।

मलेसियाबाट अप्ठ्यारो परेर स्वदेश फर्कनुपर्नेहरूले भाडा आफैं तिर्नुपर्नेछ। उनीहरूका लागि एकतर्फी भाडा ३७२ अमेरिकी डलर अर्थात् ४५ हजार १ सय रुपैयाँ तोकिएको छ।