आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

‘भारतीय सेनाले २ पटक सीमा नाघेर चिनियाँ सेनालाई आक्रमण गरेपछि झडप’ : चीन

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार १५:४६ मा प्रकाशित (४ साल अघि) ८२१ पाठक संख्या

काठमाडौं। लद्दाखमा भारत–चीन सीमामा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा ३ जना भारतीय सैनिक मारिएको घटनामा भारतीय सेनाले समझदारी उल्लंघन गरेको चीनले आरोप लगाएको छ । चीनका विदेशमन्त्री वाङ यीले भारतीय सेनाले समझदारीको गम्भीर उल्लंघन गरेका कारण झडप भएको बताएको ग्लोबल टाइम्सले जनाएको छ ।

सोमबार राती भएको भिडन्तमा भारतका तीन जना सैनिक मारिएका थिए । तीन जनामध्ये एक कर्णेल रहेको बताइएको छ । यहाँ विगत ४५ वर्षमा कुनै पनि पक्षका सैनिक मारिएको पहिलो घटना हो । पछिल्लो समय दुई देशबीच सीमाका विषयमा विवाद बढिरहेका बेला सैनिकको ज्यानै जाने गरी हिंसात्मक घटना भएको हो । सामान्यतया यो क्षेत्रमा हिंसात्मक झडप हुन नदिन दुवै देशका सैनिकले हतियार बोक्दैनन् तर पछिल्लो समय यहाँ सैनिकहरु झगडा गर्ने, एक अर्कालाई नजरबन्दमा राख्ने र सैन्य उपकरण तैनाथ गर्ने गरेका छन् ।