हरिबोल काफ्ले
तहंकर, मेधंकर र शरणंकर र दिपाङ्कर सृष्टिकालीन बुद्धहरू हुन् । त्यसपछिका प्रलयकालीन चरहरूमा कोण्ड, मङ्गल, सुमन, रेवत, सोभित, अनोमदस्सी, पदुम, नारद, पदुमुत्तर, मेध एवं सुजात बुद्धहरूले जन्म लिएका थिए । यो कुरा बुद्धवंशमा उल्लेख छ । बुद्धवंश ग्रन्थ बौद्ध साहित्य अन्तर्गत सुत्तपिटकको एक भाग हो जसमा गौतम बुद्ध सहित अन्य सत्ताइस बुद्धहरूको वर्णन छ ।
सृष्टिको आदिम कालीन चरमा पियदस्सी, अत्थदस्सी, धम्मदस्सी, सिद्धत्थ, तिस्स एवं फुस्स बुद्धहरूको अवतार भयो । त्यसपछि पनि सृष्टिमा अनेकौं प्रलयहरू पनि भइरह्यो । कल्प र कल्पान्तरको योगमा पृथ्वीमा क्रमशः विपस्वी, सिखी र विश्वभू बुद्धहरूको अवतार भयो । एक कल्पमा लगभग ४ अर्ब ३६ करोड वर्ष रहेको मानिन्छ ।
धेरै कल्पवर्ष अगाडि विपश्वी बुद्धको जन्म तेरमाला पर्वतको आसपास भएको थियो । विपश्वी बुद्धले नागार्जुन पहाडबाट आफ्नो अलौकिक शक्तिले चैत्र शुक्ल पूर्णिमाको दिन नागदहको बीचमा कमलको फूल रापेका थिए । त्यो बखत काठमाडौं उपत्यका नागदहको रूपमा एउटै ताल थियो ।
उनै विपश्वी बुद्धले त्यही समय कुनै कल्पान्तरमा बोधिसत्त्व बुद्ध त्यहाँ आइपुग्ने भविष्यवाणी गरेका थिए । तीनै बोधिसत्त्वले नागदहको पानी बाहिर पठाएर ठुलो बस्ती बसाउने सम्मको भविष्यवाणी विपश्वी बुद्धले गरेका थिए । कालान्तरमा बोधिसत्त्व महामञ्जुश्रीले खड्गले चोभार गल्छी काटेर पानी निकासा गरी बस्ती विकास गरेको विश्वास गरिन्छ ।
विपश्वी बुद्धको ६० कल्प वर्षपछि शिखी बुद्धको अवतार भएको थियो । शिखी बुद्धको शिष्यको रूपमा त्यो जन्ममा शाक्यमुनी गौतम बुद्ध क्षमाराज गृहपतिको रूपमा स्वयम्भू पुगेको थिए, र नजिकै ध्यानोच्च पर्वतमा कठोर साधना गरेका थिए । शिखी बुद्धले आफ्ना बाबु अरुण, माता प्रभावती, धर्मपत्नी सब्बकामा र पुत्र अतुललाई छाडेर गृहत्याग गरेका थिए ।
विपश्वी बुद्धको जन्मस्थल तेरमाला पर्वत श्रृंखलालाई कालान्तरमा तेमाल भन्न थालिएको मान्यता छ । यो पर्वतमालालाई तीन नदीले घेरेको बताइएको छ । पछि फेरि बोधिसत्त्व पद्मसम्भवले समेत पछि त्यो ठाउँमा पुगेर कठोर साधना गरेको विश्वास गरिन्छ ।
प्राकृतिक रूपमा मनमोहक तेमालको अवस्थितिलाई झिगु खोला, सुनकोसी र रोसी खोलाले घेरेको छ । यो भेगलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्वीकार गरेका छन् ।
तेमाल भेग नेपालको प्राचीन बस्ती मध्ये एक हो भन्नेमा दुई मत छैन । किराँत र लिच्छवीकालमा यो भेग किराँत र लिच्छवीहरूको अधीनमा थियो । राजा अंशुवर्माको अभिलेख कुशेश्वर दुम्जामा र मानदेवको पलाञ्चोकमा भेटिनुले यो कुराको पुष्टि गर्दछ ।
तेमालको भूभागलाई बाह्र तिमाल पनि भनिन्छ । यसको अर्थ कुनै समय तेमालमा १२ स-साना मौजा थियो भन्ने हो । विभिन्न अभिलेख अनुसार लिच्छविकालीन समयमा तेमाल उपत्यकाको अधीनमा रहेको स्पष्ट छ । तर मध्यकालमा कति समय पलाञ्चोक, दाप्चा, तेमाल लगायतका भेगहरू छुट्टा–छुट्टै राज्यका रूपमा समेत अस्तित्वमा थिए । वि.सं. १४६० देखि वि.सं. १५०० आसपास तेमाल पलाञ्चोकका राजा शक्तिसिंहको अधीनमा थियो ।
राजा यक्षमल्लको पालामा तेमाल फेरी उनैको अधीनमा रहेको देखिन्छ । उनको मृत्यु वि.सं.१५३८ पछि उनको माहिला छोरा रण मल्ल बनेपाको राजा भएका थिए । उनको पालामा राज्यको सिमाना पूर्वमा दुधकोशी, पश्चिममा साँगा भञ्ज्याङ, उत्तरमा साँगाचोक र दक्षिणमा मेदिनी मल्लको वन हालको महाभारतसम्म रहेको थियो । बि.सं. १६५० आसपास काठमाडौंका राजा शिवसिंह मल्लले पनि तेमाल आफ्नो अधीनमा राखेको पुष्टि हुन्छ । तर मल्लराजाहरू कमजोर हुने र विभाजन हुने क्रमसँगै तेमाल पटक पटक स्वतन्त्र राज्य पनि बनेको पुष्टि हुन्छ ।
धेरैको मतमा तेमालका अन्तिम राजा रिन्जन (ह्रेन्जेन) दोर्जे थिए भन्ने छ । रिन्जन दोर्जेले काठमाडौंको बौद्ध स्तूपको जीर्णोद्धार सम्पन्न गरेको र त्यसको सम्पन्नको खुसीमा तेमाल जात्रा चलाएको भनाई छ । बौद्ध मार्गीले यस स्तूपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्ने गरेको र स्तूपको गर्भमा काश्यप बुद्धको अस्तुधातु राखिएको मानिन्छ । यो स्तूप अष्टमण्डलकारको छ भने नेपालको सबैभन्दा ठुलो बौद्ध स्तूप हो ।
पृथ्वीनारायण शाहले युद्धमा रिन्जेन दोर्जेलाई पराजित गरी तेमाल एकीकरण गरेको अभिमत बलियो छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका बखत बि. सं. १८१९ असोज २ मंगलवारका दिनमा तेमाल विजय प्राप्त गरेको र तेमाल विजयका क्रममा करिब ३०० सैनिकहरू मारिएको कुराहरू अभिलेखहरूमा भेटिन्छ । यो तर्कको स्रोत पूर्णिमा पत्रिका, वर्ष ४ अंक २ र उल्लेखित स्रोतहरू, भाषा वंशावली एवं त्रिरात्नसौन्दर्य गाथा हो । तेमाल आक्रमणका लागि सरदार दलजित शाह, काजी वंशराज पाण्डे, जीव शाह, रुद्र शाही लगायत रामकृष्ण कुँवरलाई पठाएको उक्त स्रोतमा उल्लेख छ ।
मल्लकालको अधिकतर समय तेमाल भेग उपत्यका, सिन्धुली वा मकवानपुर मध्ये कुनै न कुनै गणराज्यको अधीनमा रहेको थियो । अर्थात् त्यो समय ठुला राज्यले आसपासका कमजोर राज्यलाई आफ्नो अधीनस्थ राज्यको व्यवहार गर्दथे । साना राज्यबाट कर र कुत उठाउँथे, र हुकुम परमाङ्गीका रूपमा समेत स्थानीय राजालाई आदेश दिने गर्दथे । ठुला गणराज्यहरूको शक्ति क्षण भैरहेको अवस्थामा मात्र स्थानीय राजाले स्वतन्त्र काम गर्न पाउँथे ।
रेञ्जेन दोर्जेले पृथ्वीनारायण शाहको सेनासँग युद्ध गरेको र उनी मारिएको कुरा सत्य नै हो । त्यो बेला गणराज्यहरू संक्रमणकालीन अवस्थामा थिए, तसर्थ रेञ्जेन दोर्जेले आफ्नो धेरै शक्तिसन्चय गर्ने मौका पनि पाएका थिए । यो दृष्टिकोणमा गोर्खासँगको लडाइँमा करिब ३०० सैनिकहरू मारिएको कुरा नकार्न सकिन्न ।
तथापि रेञ्जेन दोर्जेको दरबारको अवशेष, सिक्का, ताम्रपत्र वा अन्य स्मृतिचिह्न पाइएको छैन । तेमाल भेग समकालीन अन्य राज्यभन्दा गरीब, कमजोर र अन्य सामन्ती गणराज्यको अधीनस्थ अधिराज्य थियो । तसर्थ सानो र गरिब राज्यमा ठुला संरचनाको अवशेष, सिक्का र ताम्रपत्र जस्ता अवशेष नभेटिनु अन्यथा पनि होइन । साथै तामाङ संस्कृतिमा धेरै मौलिक कुराहरू मौखिक रहने परम्परा ज्यादा हुन्छ, तसर्थ तेमालको इतिहास लेखन शून्य नै रहने स्थिति सिर्जना भयो भन्ने तर्कलाई नकार्न सकिन्न । यसको अर्थ, इतिहास ठुलाहरूको मात्र लेखिन्छ भन्ने अभिप्रायले पनि ऐतिहासिक तेमाल राज्यको अस्तित्व थियो भनेर बुझ्न सकिन्छ ।
यता नेपाल एकीकरण पूर्व लामो समय मकवानपुर राज्य पाल्पाका राजा मुकुन्द सेनको अधीनमा थियो । मुकुन्द सेनपछि उनको विशाल राज्यलाई उनका १३ छोराहरूले भागबन्डा गरेपछि लोहाङ्ग सेन मकवानपुरका राजा भए । लोहाङ्ग सेनको राज्य पूर्वमा महानन्दा, पश्चिम अदिया, दक्षिण जुलागाढ र उत्तर हिमालसम्म फैलिएको थियो । त्यो राज्यमा लोहाङ्ग सेनपछिको छैठौं रोलमा दिग्बन्धन सेन राजा भएका थिए । यो समय भारतमा इष्ट इण्डियाले बंगालको पलासी र हरियाणा पानीपटको युद्ध जितिसकेको थियो । क्रमशः इष्ट इण्डिया पनि राज्य विस्तारको अभियानमा रणनीतिक रूपले जुटिरहेको थियो ।
राजा पृथ्वीनारायण शाहले मकवानपुर आक्रमणपछि दिग्बन्धन सेन हरिहरपुर गढीमा पुगे । त्यहीबाट दिग्बन्धन सेनले वि.सं १८१९ भाद्रमा तेमालका रिन्जेनलाई ‘मिझार’ पदवी उल्लेख गरी नेपाली भाषामा ताम्रपत्र लेखेका छन् । उनले हरिहरपुर गढी र तेमालका रिन्जेनको सहयोगमा गोर्खा उपर विजय प्राप्त गरी मकवानपुर फिर्ता लिने विचारमा देखिन्छन् ।
मकवानपुर राजा दिग्बन्धन सेन गोर्खाका राजा पृथ्वीनारायण शाहका जेठान थिए । त्यो समय मकवानपुर राजा दिग्बन्धनले सहयोगका लागि रिन्जेनलाई तेमालको बिर्ता दिएको कुरा उक्त अभिलेखमा उल्लेख छ ।
यो ताम्रपत्र त्रिभुवन विश्वविद्यालयका इतिहास, संस्कृति तथा पुरातत्त्वका तत्कालीन विद्यार्थी चन्द्रप्रसाद त्रिपाठीले शोधपत्र लेखनका क्रममा २०४० सालमा प्रकाशनमा ल्याएका थिए । उनले त्यो त्यो ताम्रपत्र तेमाल कल्लेरी निवासी भूपू न्यायाधीश धर्मप्रसाद पाण्डेबाट प्राप्त गरेको दाबी गरेका थिए । उनले उक्त विषयमा पुरातत्त्व विभागबाट प्रकाशन हुने मुखपत्र ‘प्राचीन नेपाल’ जर्नलमा बि.सं. २०४२ मा समेत ‘प्राचीन तामाङ बस्ती– तिमालको इतिहासमा प्रकाश’ मा लेख लेखेका छन् ।
दिग्बन्धन सेनले तेमालका रिन्जेनलाई ‘मिझार’ पदवी उल्लेख गरी ताम्रपत्र लेखेको भन्ने आधारमा मात्र तेमालमा राजा नै थिएनन् वा तेमाल राज्य नै थिएन भन्नु भ्रम हुनसक्छ । ठुला राज्यले आसपासका कमजोर राज्यलाई आफ्नो अधीनस्थ राज्यको व्यवहार गर्नु, सीमित अधिकार, सानो पदवी वा हेपेर सम्बोधन गर्नु नौलो होइन ।
तथापि तेमाल राज्यका अवशेष र स्मृतिचिह्नका अतिरिक्त रेञ्जेन दोर्जेका कति पुस्ताले तेमालमा राज गरे वा राज्य कहिले स्थापित भयो भन्ने सन्दर्भहरू किंवदन्तीमा निर्भर छन् । त्यसले राज्यको इतिहासलाई प्रमाणिक पुष्टि गर्न सकिंदैन ।
फेरि दिग्बन्धन सेनले त्यो बेला ताम्रपत्र लेखेका छन्, जति बेला उनी आफ्नै राज्यबाट राजच्युत भई निर्वासनमा छन् । आफ्नो अधीनस्थ भूभाग संरक्षण गर्न चुकेपछि तेमाल तिम्रो बिर्ता भयो भन्नु कति तर्क सम्मत हुन्छ त्यो पनि सोधको विषय हुनसक्छ । अर्को अर्थ आफूले सहयोग र सहानुभूति पाउने आशाले काम गरेको हुन सक्छ ।
तेमाल राज्यको स्थिति कमजोर रहेकाले ठुला गणराज्यको होलोहेचो सहनु बाध्यता पनि थियो । सम्झौता गर्दै कमजोरहरूले आफ्नो अस्तित्व रक्षा गर्नु अस्वाभाविक होइन । आफू स्वतन्त्र रहने अपेक्षाले शक्तिसन्चय गर्दै युद्ध गर्ने साहस सबै राजाले गरेको इतिहास छ, रिन्जेनले चैं गरेनन् भन्ने कुरा आउँदैन नै ।
तथापि, इतिहासको यो पक्षको बारेमा थप अनुसन्धानको खाँचो देखिन्छ । लेखकले सान्दर्भिक रूपमा विषय उठान गर्नु वा बहसमा ल्याउनु अत्युक्ति होइन । सबै पक्षको गहन अध्ययन र अनुसन्धानमा सम्बन्धित स्थानीय तहले चासो दिनु आवश्यक छ ।
लामो ऐतिहासिक विरासत भए पनि उत्तर आधुनिक कालभरि तेमाल भेगको जनजीवन गरीबी र दुःखले ग्रस्त देखिन्छ । यो कुराको वि.सं. पुष्टि सरदार भिम बहादुर पाँडेको पुस्तकमा पनि पढ्न पाइन्छ । वि.सं २००० साल वैशाख १० देखि १५ सम्म जुद्ध शमसेरको पालामा पहिलो औद्योगिक नमुना सर्वेक्षण भएको थियो । यो भेगको कार्यदलको नेतृत्व सरदार पाँडले गरेका थिए । उनले दाप्चादेखि तेमालसम्मको पैदल यात्रा गरेका थिए ।
उनले आफ्नो पुस्तकमा दाप्चा र तेमाल भेगमा आने ब्याजको चलन रहेको उल्लेख गरेका छन् । आने–व्याजमा ५ घिउ खाने कटाई १ खेतालो र १ जमानी खेतालो पर्छ भन्ने मान्यता थियो । जस अनुसार १०० ऋण रकमको कबोलमा ९५ दिएर वर्षको ७५ रुपियाँ व्याज सहित अतिरिक्त १ रुपियाँ बराबर १ साहु खेतालो र १ जमानीकताको खेतालो तिर्नु अनिवार्य थियो ।
सरदार भिम बहादुर पाँडेले तेमाल भेग सुतीको कपडाको लागि प्रख्यात रहेको उल्लेख गरेका छन् । तेमाल भेगमा २४४ घरधुरीले सुतीको कपडा बुन्ने गरेको तथ्यांक उल्लेख गरेका छन् ।
तेमाललाई जनजिब्रोमा तिमाल भन्ने गरिएको छ । यो भेगले समथल फाँटदेखि २२ सय मिटरसम्मको उचाइ समेट्छ । यो भेग अन्तर्गत मेच्छे, चापाखोरी, नारायणस्थान, ठुलो पर्सेल, बोल्देफेदिचे, सरमथली, सर्स्युखर्क, कानपुर, मेथिनकोट, कटुन्जे सहितको भाग समेट्छ ।
तामाङ जातिको विशेष बाहुल्य रहेको यो भेगलाई तामाङले आफ्नो उद्गम थलो मानेका छन् । तेमाल भेग धार्मिक महत्त्व बोकेको बोधी चित्तमालाको खेती र व्यवसाय व्यापारले समेत प्रसिद्ध छ । ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण यो भेगको पर्यटनका दृष्टिकोणले उपयुक्त थलो हो ।
तेमाल क्षेत्रलाई सांस्कृतिक पर्यटनको विकास र प्रवर्द्धनका दृष्टिकोणले प्रचुर सम्भावना भएको ठाउँ हो । भगवान् नारायणको ऐतिहासिक मन्दिर र मन्दिर परिसरमा रहेको बौद्ध, स्वयम्भू र नमोबुद्ध स्तूपाहरूले अनुपम महत्त्व राखेका छन् । त्यसैगरी तोङसुम कुण्ड, कुरुवासमा रहेको सन्तानेश्वर महादेव मन्दिर पनि धार्मिक पर्यटनमा रुची राख्नेको गन्तव्य बन्न सक्छ । तेमाल, बोल्देस्थित सुनकोशी किनारको भिम पाइला, ठूलोपर्सेलको गौखुरु लगायतका स्थानहरूले यो क्षेत्रको ऐतिहासिकता बोध गराउँछ ।
प्राकृतिक दृश्यावलोकन गर्दा समेत तेमालको उच्च स्थलबाट कञ्चनंजादेखि धौलागिरी सम्मका हिमश्रृंखलाहरू लहरै देख्न सकिन्छ ।
तेमालकै डाँडाबाट काठमाडौं उपत्यका र सिन्धुलीगढी समेत देख्न सकिन्छ । तामाङ जातिमा केन्द्रित सांस्कृतिक विरासतको धनी यो क्षेत्र उपत्यकाबाट ५५ किलोमिटर पूर्वबाट शुरु हुन्छ । काठमाडौंबाट बनेपा- नमोबुद्ध नगरपालिका भेग वा पाँचखाल-पलान्चोक हुँदै दुई देखि अढाई घण्टाको आरामदायी यात्रामा तेमालको मूल क्षेत्र पुग्न सकिन्छ ।
प्राचीन तेरमाला वा वर्तमान तेमाल खण्ड इतिहास, समाज संरचना, संस्कृति, पृथक् भाषा, लोक परम्परा, साहित्य र लोककथनको साक्ष्य भूगोल हो । यो अर्थमा तेमाल मौलिक ज्ञान, दर्शन र संस्कारको खोजीमा रहेकाहरुको गन्तव्यको विकल्प बन्न सक्छ । मलाई चाहिँ यो भूगोल आफैले पनि धेरै यायावरहरूको खोजी गरिरहेको प्रतीत हुन्छ ।