आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

आफ्नै पतिको सिकार बनिन काभ्रेकी चेली “ममता”

गोकर्णेश्वर खबर८ भाद्र २०८१, शनिबार १७:१० मा प्रकाशित (३ हफ्ता अघि) २१५ पाठक संख्या

काठमाडौँ। अमेरिकाको मानसास पार्कबाट बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेलाई श्रीमानले नै हत्या गरेर शव लुकाएको पुष्टि भएको छ ।

घरकै बेडरुममा भट्टले जुलाई ३० मा ममताको हत्या गरी शव लुकाएको प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रबाट पुष्टि भएको हो  ।

अमेरिकी प्रहरीले नरेशलाई बिहीबार ममताको शव लुकाएको आरोपमा पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले शुक्रबार बिहान भट्टलाई अदालतमा पेस गरेको थियो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टको रेकर्ड अनुसार शुक्रबार बिहान अदालतमा पेस गरिएको थियो ।

ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ । उक्त घटनालाई लिएर अब अर्को सुनुवाइ भने अक्टोबर २४ मा हुने बताइएको छ ।

कसरी हराएकी थिईन् ममता ?

काभ्रेकी चेली ममता अमेरिकाको भर्जिनियामा युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सको रूपमा कार्यरत थिईन् नियमित अस्पतालमा हाजिर भएर काम गर्ने उनी साउन १२ पछि उनी त्यहाँ हाजिर भइनन् ।

ममता हराएपछि स्थानीय समुदाय, साथीभाइ, र परिवारका सदस्यहरूले उनको खोजीमा ठूलो अभियान चलाएका थिए। अहिले पनि उनको खोजी कार्य भएको थियो ।

उनीबारे बुझ्न दुई दिनपछि साउन १८ मा प्रहरी घरमा पुगी ममताका पति नरेश भट्टसँग प्रहरीले सोधपुछ गर्‍यो । उनले आफ्नी श्रीमती हराएको बारेमा प्रहरीमा रिपोर्ट गर्न चाहेका थिएनन् ।

साउन २१ मा मात्र भट्टले प्रहरीमा पुगेर श्रीमती काफ्ले हराएको रिपोर्ट गरेको थिए । त्यसपछि ममताको खोजी कार्य तिब्र पारिएको थियो ।

कसरी भएको थियो ममता र नरेशको विवाह ?

काभ्रेपलाञ्चोक जिल्ला स्थित पनौती नगरपालिका – ६ मा जन्म भएकी ममता बाबु कमल काफ्ले र आमा गिताकी एक्ली छोरी हुन् ममता काफ्ले ।

पनौतीको नवरत्न इंग्लिस सेकेन्डेरी स्कुलबाट एसईई गरी बनेपाको बेलर इन्टरनेसनल एकेडेमीबाट प्लस टु उत्तीर्ण गरेकी ममता सानै उमेरदेखि पढाइमा तेज थिइन् ।

प्लस टु उत्तीर्ण गरेर नर्सिङ विषय अध्ययन गर्न भारतको बैंग्लोर गएकी थिइन् । पाँच वर्ष पढाइ सकेर नेपाल फर्किइन् ।

अमेरिका बस्दै आएका कञ्चनपुर घर भएका नरेश भट्टसँग ममताको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । नरेश र ममताको चिनजान ममताकी साथीले गराईदिएकी थिईन् । ममताकी साथीको नरेश आफन्त थिए । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढेको ममताको पारिवारिक श्रोतले बताएको छ ।

ममता २४/२५ उमेरकी थिईन । नरेश ममता भन्दा १०/१५ बर्षले जेठा थिए । उमेरमा धेरै अन्तरका कारण ममताका परिवारले पहिला स्विाकार गरेका थिएनन् ।

तर छोरीको खुसीका लागि उनीहरुले पनौतीबाटै २०७७ मंसिरमा ममता र नरेशको विवाह गराईदिएका थिए । विवाहपछि नरेशले ममतालाई पनि अमेरिका लगेका थिए ।

अहिले उनीहरुकी एक वर्षीया छोरी छिन्।