आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

गोकर्णेश्वर नगरपालिकामा बी.एस्सी. नर्सिङ अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति

गोकर्णेश्वर खबर७ भाद्र २०८१, शुक्रबार २१:२५ मा प्रकाशित (१ महिना अघि) २६१ पाठक संख्या

काठमाडौँ, गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दा भई बी.एस्सी. नर्सिङ अध्ययन गर्न चाहने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ। नगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आवश्यक कागजात सहित आवेदन पेश गर्न आग्रह गरेको छ।

नगरपालिकाले सार्वजनिक गरेको सूचनामा स्थानीय तहमा स्थायी ठेगाना भएका नागरिकहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने उल्लेख छ। आवेदन दिन इच्छुकहरुले गोकर्णेश्वर नगरपालिकाको स्थायी ठेगाना प्रमाणित गर्ने नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, र बी।एस्सी। नर्सिङ अध्ययनका लागि सम्बन्धित शैक्षिक संस्थाबाट प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

यस कार्यक्रम अन्तर्गत नगरपालिकाले आगामी भदौ १५ गतेसम्म सम्बन्धित कागजात सहित आवेदन पेश गर्नको लागि सूचनासमेत प्रकाशित गरेको छ। नगरपालिकाले यस कदमलाई स्थानीय स्तरमा स्वास्थ्य सेवामा सुधार ल्याउन र समाजमा महिलाहरुलाई सक्षम बनाउन एक महत्वपूर्ण प्रयासको रुपमा हेरिएको छ।